रास्वपा सरकार आएपछि पनि सुशासन कायम भएन : उपेन्द्र यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आएपछि पनि देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्।

कपिलवस्तुको तौलिहवामा जसपा नेपाल कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले रास्वपा सरकार गठनपछि भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्रै परिवर्तन भएको, तर जनताले अपेक्षा गरेको सुशासन प्राप्त हुन नसकेको बताएका हुन्।

‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन। तर नयाँ शैलीमा नारा बनाइयो र रास्वपाले बहुमत पायो,’ यादवले भने, ‘बहुमत पाएपछि विकास र सुशासन हरायो। अहिले पनि देशमा कुशासन कायम छ र मुलुक आर्थिक संकटतर्फ गइरहेको छ।’

यादवले गरिब तथा निम्न आय भएका नागरिकमाथि करको भार थपिँदै गएको आरोप लगाए। कृषि, उद्योग तथा पर्यटन क्षेत्रसमेत कमजोर बन्दै गएको उल्लेख गर्दै उनले मुलुक आर्थिक मन्दीको जोखिममा रहेको दाबी गरे।

संघीयता कमजोर पार्न खोजियो

संघीयताको विषयमा बोल्दै जसपा अध्यक्ष यादवले विभिन्न आन्दोलनको बलमा स्थापित संघीयताको पूर्ण कार्यान्वयन हुन नसकेको बताए। संघीयतालाई कमजोर बनाउँदै केन्द्रिकृत शासन प्रणालीतर्फ मुलुकलाई लैजान खोजिएको उनको आरोप थियो।

पहिचानका आधारमा प्रदेशको सीमांकन, जनसंख्याका आधारमा प्रतिनिधित्वलगायतका माग पूरा नभएसम्म जसपा नेपालले राजनीतिक संघर्ष जारी राख्ने उनले बताए।

सत्ता राजनीतिमा सहभागी हुनु गल्ती

यादवले विगतमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको पछाडि लागेर सत्ता राजनीतिमा सहभागी हुनु आफ्नो पार्टीको ठूलो गल्ती भएको स्वीकार गरे।

अब भने जनताको अधिकार, पहिचान र सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर पार्टी अघि बढ्ने उनको भनाइ थियो।

जलवायु संकटमा विकसित राष्ट्र जिम्मेवार

कार्यक्रममा जलवायु परिवर्तनबारे धारणा राख्दै यादवले विकसित तथा शक्तिशाली राष्ट्रहरूले गरेको वातावरणीय प्रदूषणका कारण नेपाल जलवायु संकटको उच्च जोखिममा परेको बताए।

विकसित मुलुकबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड तथा हरितगृह ग्यासका कारण हिमनदी पग्लिने क्रम तीव्र भएको र त्यसले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको उनले बताए।

नेपालले जलवायु संकटबाट भोग्नुपरेको क्षतिका लागि विकसित राष्ट्रहरूसँग वातावरणीय न्यायको माग गर्नुपर्नेमा यादवले जोड दिए।

कार्यक्रममा जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल, केन्द्रीय सचिव कमरुद्दिन राई, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य अम्बिका काप्ले, केन्द्रीय सदस्य अब्दुल रासिदलगायतका नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.