कपिलवस्तु, १८ असोज । कपिलवस्तु जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयका टोलीले छुट्टाछुट्टै अभियानमा गरी १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध चोरी पैठारीका सामान बरामद गरेका छन्। बरामद गरिएका सामानहरू सम्बन्धित निकायमा बुझाइएको छ।
सशस्त्र प्रहरीद्वारा ५ लाख बढीको सामान बरामद
सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हे.क्वा. कपिलवस्तुबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट लत्ताकपडा, जुत्ता तथा एक थान मोटरसाइकल गरी मूल्य रु. ५,३२,६००।– बराबरको अवैध सामान बरामद गरेको छ। बरामद गरिएका उक्त सामानहरू सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
प्रहरीद्वारा भन्सार छलीका ४ लाख ८८ हजारको सामान बरामद
यस्तै, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले मिति २०८३।०७।१७ र १८ गते भारतबाट भन्सार छली गरी ल्याइएका ४ लाख ८८ हजार ८ सय रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय तौलिहवाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पेिन्द्र कुमार सिंहका अनुसार विभिन्न स्थानबाट बरामद गरिएका सामानहरूमध्ये केही किराना सामान कृष्णनगर भन्सार कार्यालयमा र केही सामान सुठौली भन्सार कार्यालयमा पठाइएको छ। भन्सार छलीका केही पटका तथा मोटरसाइकल भने नष्ट गरिएको छ।
प्रहरीले बरामद गरेका सामानको विवरण यसप्रकार रहेको छ:
· मायादेवी गाउँपालिका–५, नवना (प्र.चौ. मर्यादपुर)बाट: मोबाइल फोनको कभर १८७ पिस (रु. ५६,१००)
· कृष्णनगर नगरपालिका–३, चैपुरुवा (इ.प्र.का. कृष्णनगर)बाट: विभिन्न प्रकारका पटका (रु. १,२०,०००) र UP 53 BD 4667 नम्बरको मोटरसाइकल (रु. १,००,०००) । यी सामान नष्ट गरी भन्सार पठाइएको छ।
· शिवराज नगरपालिका–५, गडगौडा (व.प्र.का. चन्द्रौटा)बाट: किराना सामान (रु. १,१३,०००)
· कृष्णनगर नगरपालिका–८ (इ.प्र.का. बहादुरगन्ज)बाट: भारतीय युरिया मल ७ बोरा (रु. १०,५००), काजु २० केजी (रु. ३६,०००), बदाम ९ केजी (रु. १३,५००) र किराना सामान (रु. १८,५००)
· मायादेवी गाउँपालिका–४, चाकरचौडा (इ.प्र.का. चाकरचौडा)बाट: विभिन्न प्रकारका पटका (रु. २१,२००) । यी पटका पनि नष्ट गरिएको छ।
यसरी दुवै निकायको कारबाहीबाट जिल्लामा गरी कुल १० लाख २१ हजार ४ सय रुपैयाँ बरामद भएको छ। अवैध चोरी पैठारी तथा भन्सार छली नियन्त्रणमा प्रहरीले आफ्नो निगरानी थप कडा बनाएको जनाएको छ।

