कपिलवस्तु । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तु जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न छनोट प्रतियोगिताबाट ५ पुरुष र ५ महिला गरी १० जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कपिलवस्तु जिल्लाको प्रतिनिधित्व गर्नेछन्।
जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा ४४ पुरुष र ७ महिला गरी कुल ५१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय ब्याडमिन्टन प्रशिक्षक राजेश शाक्यका अनुसार जिल्लाभरिका खेलाडीलाई सहभागी गराउँदै छनोट प्रतियोगिता सञ्चालन गरिएको हो।
छनोट प्रतियोगिताका क्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मिनप्रसाद बेल्वासेले उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको बताउँदै राष्ट्रिय प्रतियोगितामा कपिलवस्तुको राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे।
त्यस्तै, जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष रितेश थापाले छनोट भएका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे। अभिभावक विनायक सिंहले जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र राष्ट्रिय स्तरमा कपिलवस्तुको पहिचान स्थापित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रतियोगिता सञ्चालन तथा खेलाडी छनोट प्रक्रियामा मो. हुसेन, त्रिविक्रम जोशी र सिद्धार्थ कार्कीले प्राविधिक सहयोग गरेका थिए।
जिल्लास्तरीय छनोट प्रतियोगिताले स्थानीय स्तरमा ब्याडमिन्टन खेलप्रति आकर्षण बढाउनुका साथै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
