संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको समितिले सार्वजनिक गरेको विज्ञप्तिअनुसार यस वर्ष तिहारका विभिन्न पर्व कात्तिक २० गतेदेखि सुरु हुनेछन्।
समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धनतेरस) तथा यमदीपदान परेको छ। त्यसैगरी कात्तिक २१ गते शनिबार काग तिहार (काकबलि) तथा धन्वन्तरि जयन्ती मनाइनेछ।
कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा (दीपमालिका) तथा सुखरात्रि परेको समितिले जनाएको छ। यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा र कात्तिक २४ गते मंगलबार गोवर्द्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ।
यसैगरी कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका परेको छ। समितिका अनुसार उक्त दिन बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको शुभसाइत रहेको छ।
विज्ञप्तिमा पश्चिम मोहडा (लजुपाइ पश्चिम फर्कने) तथा दिदीबहिनीहरूले पूर्व फर्केर दाजुभाइलाई टीका लगाइदिने उल्लेख गरिएको छ।

