कपिलवस्तु
कपिलवस्तुको तौलिहवा र गोरुसिंगेमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाईजात्रा निकालिएको छ । तौहिलवा र गोरुसिंगेमा गाईजात्राका झाँकी निकालिएका हो । नेवा खलः को आयोजनमा झाकी निकालिएको हो । पछिल्लो एक बर्ष भित्र तौलिहवामा ६ जना दिवंगत भएका परिवार आफन्त सहीतले गाईजात्रा मनाएको खलका जिल्ला अध्यक्ष हेमन्त श्रेष्ठले बताए । यसरी निकालिएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न तथा द्रव्य दान गर्ने परम्परा छ । गाई नगर परिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका व्यक्तिले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागतसांस्कृतिक पर्व गाईजात्रा हो ।

ऐतिहासिक तथ्यअनुसार राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँमा शोक सबैले बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्ना घरमा दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिइएको र त्यसैअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको जनश्रुति पाइन्छ। प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्राका क्रममा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ। देशकाविभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गई ।गाईजात्राका क्रममा प्रहसन, सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतसमेत गाइन्छन् ।
