कपिलवस्तु । नेपाल पर्यटन पत्रकार संघ कपिलवस्तुको आयोजनामा तथा कपिलवस्तु नगरपालिका वडा नं. ३ कार्यालयको सहयोगमा सञ्चालित तिन दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ।
जेष्ठ २०,२१ र २२ गते सञ्चालन भएको तालिममा पत्रकारिता तथा उद्घोषण क्षेत्रका आधारभूत विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा प्रशिक्षक भुपाल थापा र खग चापागाईं ले समाचार लेखन, सञ्चार सीप, उद्घोषण कला, प्रस्तुतीकरण तथा सञ्चार माध्यमको प्रभावकारी प्रयोग लगायतका विषयमा सहजीकरण गरेका थिए।
समापन कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिका वडा नं. ३ का अध्यक्ष रुद्रप्रकाश गैरे ले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै यस्ता तालिमले युवाहरूलाई जिम्मेवार र व्यावसायिक सञ्चारकर्मी बन्न प्रेरणा मिल्ने बताए। उनले स्थानीय तहले क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य ले पत्रकारितामा सत्य, निष्पक्षता र व्यावसायिक आचरणको महत्वबारे प्रकाश पार्दै सञ्चारकर्मीले समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्ने धारणा राखे।
कार्यक्रमको समापन गर्दै नेपाल पर्यटन पत्रकार संघ कपिलवस्तुका अध्यक्ष मनिश कार्की ले पत्रकारिता र पर्यटन क्षेत्र एकअर्काका परिपूरक भएको उल्लेख गरे। उनले कपिलवस्तुको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न दक्ष सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए। अध्यक्ष कार्कीले तालिम सफल बनाउन सहयोग गर्ने कपिलवस्तु नगरपालिका वडा नं। ३, प्रशिक्षकहरू, अतिथिहरू तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रममा वडा सचिव मेघनाथ खनाल वडा सदस्य कमलावती पासी, पत्रकार, विद्यार्थी, उद्घोषणमा रुचि राख्ने युवायुवती तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमबाट पत्रकारिता तथा उद्घोषण सम्बन्धी व्यावहारिक ज्ञान र अनुभव हासिल भएको बताएका छन्।
