कपिलवस्तु । शिवराज नगरपालिकाअन्तर्गत आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा आर्थिक वर्ष २०८१र०८२ मा भएको आर्थिक कारोबार हिनामिना प्रकरणमा अस्पताल तथा बैंकका ५ जना कर्मचारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्री वापत संकलन भएको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्नुपर्ने भए पनि विभिन्न मितिका १२९ वटा भौचरमार्फत करिब ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैंकमा जम्मा नभएको भेटिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली बैंक भौचर तयार गरी संगठित रूपमा रकम हिनामिना गरिएको खुलेपछि थप अनुसन्धान अघि बढाइएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा अस्पताल र बैंकसँग सम्बन्धित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा दाङ तुल्सीपुर उपमहानगरपालिका–५ भइ शिवराज नगरपालिका कार्यलयको स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चूडामणि भट्टराई, महाराजगञ्ज नगरपालिका–१ निवासी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय अमित पाण्डेय, गुल्मी सत्यवती गाउँपालिका–५ निवासी नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमल प्रसाद भण्डारी, शिवराज नगरपालिका–५ निवासी अस्पतालका फार्मेसी सहायक २७ वर्षीय रुक्सना खातुन तथा शिवराज नगरपालिका–३ निवासी नेपाल बैंकका कर्मचारी ३५ वर्षीय विक्रम के.सी. रहेका छन् ।
प्रहरीले उनीहरू विरुद्ध संगठित तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायव उपरिक्षक रिपेन्द कुमार सिंह ले जानकारी दिएका छन ।
