दशौँ राष्ट्रिय खेलकुदमा कपिलवस्तुका २० खेलाडी छनोट, जिल्लाकै ऐतिहासिक उपलब्धि

कपिलवस्तु। कर्णाली प्रदेशको सुर्खेतमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कपिलवस्तु जिल्लाबाट हालसम्मकै सर्वाधिक २० जना खेलाडी छनोट भएका छन्। जिल्लाका खेलाडीहरूले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेपछि कपिलवस्तुको खेलकुद क्षेत्रमा उत्साह थपिएको छ।

छनोट भएका खेलाडीहरूमध्ये महिला फुटबलबाट ८ जना, उसुबाट ५ जना, ब्याडमिन्टनबाट ३ जना, करातेबाट ३ जना र टेबलटेनिसबाट १ जना रहेका छन्। उनीहरूले राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्नो खेल कौशल र प्रतिभा प्रदर्शन गर्दै प्रदेश तथा जिल्लाको नाम उच्च राख्ने अपेक्षा गरिएको छ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मिनप्रसाद पोखरेलका अनुसार कपिलवस्तुबाट यसपटक हालसम्मकै धेरै खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनु जिल्लाका लागि गौरवपूर्ण उपलब्धि हो। उहाँले कबड्डी र एथलेटिक्स विधाबाट समेत थप खेलाडी छनोट हुने अपेक्षा रहेको बताउनुभयो।

यस उपलब्धिले कपिलवस्तुमा खेलकुदप्रतिको आकर्षण, खेलाडीहरूको मेहनत र सम्भावनालाई उजागर गरेको छ। सीमित स्रोतसाधनका बाबजुद जिल्लाका खेलाडीहरूले राष्ट्रियस्तरमा स्थान बनाउन सफल हुनु खेलकुद विकासका लागि सकारात्मक सन्देशसमेत हो।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.