कपिलवस्तु,
सञ्चारकर्मीहरूलाई स्वास्थ्य प्रवर्द्धनका विषयमा थप जानकारी गराउँदै प्रभावकारी सञ्चार र पैरवीमार्फत जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले “स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चारकर्मीहरूका लागि सञ्चार तथा पैरवी कार्यक्रम” कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, राप्ती उपत्यका (देउखुरी), दाङ को आयोजनामा सम्पन्न कार्यक्रममा कपिलवस्तु जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत विष्णु आचार्य ले सहजीकरण गर्दै स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम, स्वस्थ जीवनशैली, जनचेतनामूलक सन्देशको प्रभावकारी सम्प्रेषण तथा सञ्चारमाध्यमको भूमिकाबारे प्रस्तुति दिएका थिए। साथै स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार सम्प्रेषण गर्दा तथ्यपरक, सन्तुलित र जनहितमुखी सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।
यस्तै स्वास्थ्य कार्यलय प्रमुख गौरव ढकालले सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्यका विभिन्न अभियानलाई समुदायसम्म प्रभावकारी रूपमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्वास्थ्यसम्बन्धी विषयवस्तुलाई थप गहिराइमा बुझ्न सहयोग पुगेको बताएका थिए। सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गरी स्वास्थ्यसम्बन्धी सूचना, सन्देश तथा जनचेतनामूलक सामग्रीलाई प्रभावकारी ढंगले आमनागरिकसम्म पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको ढकालले बताए।
