कपिलवस्तु, फागुन ४ — कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा नेपाली नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको प्रहरी टोलीले मिति २०८२ फागुन १ गते जिल्लाको साविक महुवा.वि.स. वडा नं. ८ हाल बुद्धभूमि नगरपालिका वडा नं. ६ कोहनाैलिया बस्ने वर्ष ५० का सुटटु यादवलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट नेपाली रुपैयाँ १,००० दरका ९९ थान विभिन्न स्थानमा काराेवार गरेकाे २ थान नोट समेत फेला पारी जम्मा १ लाख १ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कायर्लय का सुचना अधिकारि प्रहरी नायव निरक्षक रिपेन्द्र कुमार सिंहले जानकारि दिएका छ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा अजय यादव (अन्दाजी १९ वर्ष), कपिलवस्तु नगरपालिका वडा नं. ८ बस्ने संजय गुप्ता भनिने पटेश्वरी प्रसाद गुप्ता (४२ वर्ष) र साजिदा खातुन (अन्दाजी ५० वर्ष) लाई समेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। कपिलवस्तु जिल्ला अदालतबाट मिति २०८२ फागुन ४ गते ८ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नक्कली नोटको कारोबार बुद्धभूमि नगरपालिका वडा नं. १० स्थित पेट्रोल पम्प, सोही वडाको तरकारी पसल तथा कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित पेट्रोल पम्पमा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
