प्रथम कपिलवस्तु तिलौराकोट मेन एण्ड वुमन राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इनक्लाइन बेन्च प्रेस प्रतियोगिता–२०८२ आजदेखि कपिलवस्तुमा सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन विहान मार्चपास गर्दै औपचारिक रुपमा गरिएको थियो।

उद्घाटन समारोहका प्रमुख अतिथी प्रदेश खेलकुद मन्त्री सन्तोष पाण्डेयले खेल क्षेत्रमा निरन्तरता, मेहनत र धैर्य आवश्यक हुने बताए। खेलकुदमा खेलमा प्रथम, द्वितीय, तृतीय र साना–ठूला विभिन्न पुरस्कार मिल्छन्, तर राजनीतिमा भने एक जना मात्रै विजेता हुन्छन्, बाँकी सबै उपविजेता,” मन्त्री पाण्डेयले भने।

मन्त्री पाण्डेयले रिबन काटेर तथा इनक्लाइन बेन्च प्रेसमा ३० के।जी। तौल उचाली प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए। उनले खेल क्षेत्रको विकासका लागि यसअघि नै १० लाख रुपैयाँ विनियोजन गरिसकिएको उल्लेख गर्दै स्ट्रेन्थलिफ्टिङ खेलका लागि पनि बजेट विनियोजन गर्न प्रतिबद्ध रहेको बताए।

आजको खेलतर्फ पुरुष सब–जुनियर, जुनियर, सिनियर र मास्टर समूहका प्रतियोगिता प्रतिस्पर्धा सम्पन्न भइसकेका छन् भने बाँकी खेल तथा महिला समूहको प्रतियोगिता भोलि हुने आयोजकले जनाएको छ।

समारोहमा विशिष्ट अतिथीका रुपमा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेल, शिवराज नगरपालिका प्रमुख अजय थापा, शुद्धोधन गाउँपालिकाका अध्यक्ष तथा प्रदेश सांसद सुधाकर पाण्डे, राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ महासंघका कार्यबाहक अध्यक्ष नारायण प्रधान, महासचिव जीवन गिरी, केन्द्रीय सदस्य विजेन्द्र श्रेष्ठ, कृष्णा गुप्ता लगायतको उपस्थिति रहेको थियो।
