कपिलवस्तु — दक्षिण एसियाकै सबैभन्दा सुरक्षित र संरक्षित पुरातात्विक क्षेत्र मानिएको तिलौराकोटको काखमै रहेको कपिलवस्तु संग्रहालय यतिबेला दर्शकविहीन जस्तै बनेको छ। राजा शुद्धोधनको राजप्रासाद र भगवान् बुद्धले २९ वर्ष बिताएको ऐतिहासिक दरबार क्षेत्रबाट उत्खनन गरी संकलन गरिएका अमूल्य पुरातात्विक सामग्री राखिएको संग्रहालयमा पछिल्ला वर्षहरूमा पर्यटकको उपस्थिति निरन्तर घट्दो क्रममा देखिएको हो।
संग्रहालयको तथ्याङ्कले तीन वर्षयता आगन्तुक संख्या लगातार घटिरहेको संकेत गर्छ।
ओरालो लाग्दो पर्यटक ग्राफ
- आर्थिक वर्ष २०७९/८० मा १३ हजार ४ सय ७९ जनाले अवलोकन गरेका थिए।
- आर्थिक वर्ष २०८०/८१ मा करिब ६ प्रतिशतले गिरावट आउँदै संख्या ९ हजार ९ सय २९ मा झर्यो।
- आर्थिक वर्ष २०८१/८२ मा थप घटेर ९ हजार ३ सय ३४ मा सीमित भयो।
- चालु आर्थिक वर्ष २०८२/८३ (पुस मसान्तसम्म) भने जम्मा ३ हजार ८ सय ८२ जनाले मात्र संग्रहालय अवलोकन गरेका छन्।
अझ चासोको विषय के छ भने तिलौराकोट पुग्ने पर्यटकमध्ये १५ प्रतिशत पनि संग्रहालयसम्म नपुग्ने गरेका छन्। संग्रहालयका सूचना अधिकारी नारायण भुसालका अनुसार प्रभावकारी प्रचार–प्रसार अभावका कारण अधिकांश पर्यटक तिलौराकोट अवलोकन गरेर सिधै फर्किने गरेका छन्।
गत आर्थिक वर्षमा ७ सय ६१ विदेशी पर्यटक, २ हजार ६ सय ४२ नेपाली विद्यार्थी र ३ हजार ९ सय ३४ आन्तरिक पर्यटकले संग्रहालय भ्रमण गरेका थिए। अघिल्लो वर्षको तुलनामा यो संख्या उल्लेख्य रूपमा कम हो।आधुनिक भवन, तर सुनसान ग्यालरी
पुरातत्व विभागले कपिलवस्तु नगरपालिका–३, रामघाटमा ४ करोड ३२ लाख रुपैयाँ लागतमा आधुनिक संग्रहालय भवन निर्माण गरेको छ। १३१ फिट लम्बाइ र ८१ फिट चौडाइको भव्य संरचनामा पार्किङ, व्यवस्थित ग्यालरी र अन्य आधारभूत सुविधा थपिएका छन्।
संग्रहालय प्रमुख शान्ति शेर्मा भन्छिन्, “पहिले जीर्ण भवनले समस्या थियो। अहिले सुविधा सम्पन्न भवनमा सरेका छौं, तर पर्यटक अभावले ग्यालरी सुनसान देखिन्छ। अब व्यापक प्रचार–प्रसार र प्याकेज कार्यक्रम आवश्यक छ।”
अमूल्य सम्पदा, सीमित पहुँच
संग्रहालयमा तिलौराकोट, कुदान, अरौराकोट र सिसहनिया क्षेत्रबाट उत्खनन गरिएका दुर्लभ वस्तुहरू सुरक्षित छन्। पञ्चमार्क चाँदीका सिक्का, शीलछाप, बहुमूल्य पत्थर, विष्णु–शिव–पार्वती–सूर्य–बराहका मूर्ति, बाह्मी लिपियुक्त मानव आकृति, प्राचीन गहना, हातहतियार तथा माटाका भाँडाकुँडा यहाँका प्रमुख आकर्षण हुन्।
पुरातत्वविद्हरूका अनुसार बुद्ध धर्मावलम्बीका लागि यी सामग्रीको अवलोकन आध्यात्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ। तर, तिलौराकोट आउने पर्यटकलाई संग्रहालयसम्म डोर्याउने प्रभावकारी संयन्त्र, संयुक्त टिकट प्रणाली र प्रचार अभियान नहुँदा अमूल्य सम्पदा ओझेलमा परेको स्थानीय सरोकारवालाको भनाइ छ।
समाधानको खोजी
विशेषज्ञहरू तिलौराकोट भ्रमणसँगै संग्रहालय अवलोकन अनिवार्य गर्ने प्याकेज, डिजिटल प्रचार–प्रसार, विद्यालयस्तरमा शैक्षिक भ्रमण कार्यक्रम र अन्तर्राष्ट्रिय बौद्ध सर्किटसँग जोड्ने पहललाई आवश्यक ठान्छन्।