कृष्ण अग्रहरी तौलिहवा
कपिलवस्तु, असार २३
समाजमा भइरहेका पारिवारिक संघर्ष, गरिबी, अन्याय, भेदभाव, आत्मसम्मान र मानवीय सम्बन्धका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको ‘अभागी’ नेपाली पारिवारिक सिरिज २०८३ साल असार २६ गते बेलुकी ६ बजे MYT OFFICIAL YouTube Channel मार्फत सार्वजनिक हुने भएको छ। सिरिजको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले समाजलाई सकारात्मक सन्देश दिने कथावस्तु प्रस्तुत गरिएको जनाएको छ।
निर्माण टिमले दिएको जानकारी अनुसार सिरिजका निर्माता योगी राज बर्गे , लेखक वीर शर्मा, अवधारणा मनिषा थापा र निर्देशक भूपेन्द्र भट्ट रहेका छन्। कलाकारहरूमा मनिषा थापा, भूपेन्द्र भट्ट, रोहित पाल, वीर शर्मा, अनुप गोस्वामी, सोमनाथ गोस्वामी, विराट चौधरी, रवि साहानी, सन्दीप मल्ल, बिलाल शाह र कृष्ण कुमार अग्रहरी लगायतको अभिनय रहेको छ।
‘अभागी’ केवल मनोरञ्जनका लागि मात्र नभई समाजमा हुने जातीय विभेद, धार्मिक विभेद, पारिवारिक समस्या गरिबीप्रतिको दृष्टिकोण, महिला सम्मान, आपसी विश्वास, प्रेम, त्याग र मानवीय संवेदनाको महत्वलाई उजागर गर्ने प्रयास रहेको निर्माण पक्षको विश्वास छ। समाजमा बढ्दो वैमनस्य, गलत सोच र असहिष्णुताको अन्त्य गर्दै एकता, सहकार्य र पारिवारिक सद्भाव कायम गर्न यस्ता सिर्जनाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको बताइएकाे छ ।
दर्शकले पनि सिरिजलाई मनोरञ्जनको माध्यम मात्र नभई समाज सुधारको अभियानका रूपमा ग्रहण गर्दै सकारात्मक सन्देश आत्मसात् गर्नुपर्ने आवश्यकता देखिन्छ। कला र सञ्चारका माध्यमबाट सामाजिक विकृति हटाउन सकिने भएकाले यस्ता सिर्जनालाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो।
‘अभागी’ ले प्रत्येक दर्शकलाई एउटा महत्वपूर्ण प्रश्न सोध्ने प्रयास गरेको छ— के हामी अरूको दुःख बुझ्ने समाज निर्माण गर्न सक्षम छौँ? यदि यसले दर्शकलाई सकारात्मक सोच, परिवारप्रतिको जिम्मेवारी र मानवीय व्यवहारतर्फ प्रेरित गर्न सक्यो भने यसको उद्देश्य सफल हुने विश्वास निमार्गणा टिमले गरेकाे छ।
‘अभागी’ नेपाली पारिवारिक सिरिज को छायांकन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ, हौसला र समन्वय प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति निर्माण टिम हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछ। साथै विशेष धन्यवाद स्थानीय प्रशासन, लुम्बिनी पद्मा होटल परिवार तथा छायांकन अवधिभर विभिन्न रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूमा। यहाँहरूको अमूल्य सहयोग, सद्भाव र विश्वासले यस सिरिजलाई सफलतापूर्वक छायांकन सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।