कपिलवस्तु, तौलिहवा — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ मा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गर्नुका साथै शान्ति कायम राख्न सबैसँग अपिल गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मिति २०८२/१२/०७ गते भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरिएको छ। घटनामा घाइते भएका नागरिकहरूको उपचार भइरहेको र उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको प्रशासनले जनाएको छ।
सो घटनापछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मिति २०८२/१२/०८ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म कपिलवस्तु जिल्लाको तोकिएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिभर कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको प्रशासनले स्पष्ट पारेको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पूर्वतर्फ लवनी चोक, पश्चिमतर्फ बर्गदीको पुल, उत्तरतर्फ पचेहरा चोक र दक्षिणतर्फ धर्मभक्त मावि बर्मनी क्षेत्र समेटिएको छ।

प्रशासनले धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने उद्देश्यले गरिने उच्छृंखल तथा अराजक गतिविधि निन्दनीय रहेको उल्लेख गर्दै घटनामा संलग्न दोषीहरूलाई कडाइका साथ खोजी गरी कानुन बमोजिम कारबाही गरिने जनाएको छ। साथै, दोषीलाई कुनै हालतमा नछाडिने पनि स्पष्ट पारिएको छ।
जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, संघ–संस्था तथा सञ्चार क्षेत्रलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। अनावश्यक भड्काव नगरी संयमित रहन र शान्ति कायम गर्न सहयोग गर्न प्रशासनले सबैमा अपिल गरेको छ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जारी गरेको सूचनामा निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
