जापानमा सन् २०२५ मा जन्मेको शिशुको सङ्ख्या लगातार दशौँ वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ, जसले देशको घट्दो जनसङ्ख्या र श्रम सङ्कटलाई थप गम्भीर बनाएको छ।
प्रारम्भिक स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गत वर्ष सात लाख पाँच हजार ८०९ शिशु जन्मिएका छन्। यो सन् २०२४ को तुलनामा २.१ प्रतिशत कम हो।
यस तथ्याङ्कमा जापानभित्र जापानी नागरिकबाट जन्मिएका शिशु, विदेशी नागरिकका सन्तान र विदेशमा जन्मिएका जापानी शिशुहरू सबै समेटिएका छन्।
विश्वको चौथो ठुलो अर्थतन्त्र मानिने जापानमा विश्वकै न्यूनतम जन्मदर भएका देशमध्ये एक हो र कुल जनसङ्ख्या निरन्तर घटिरहेको छ।
घट्दो जन्मदरका कारण श्रम अभाव, सामाजिक सुरक्षा खर्चमा वृद्धि र कर तिर्ने कामदारको सङ्ख्या घट्ने समस्या तीव्र बन्दै गएको छ।
यसले जापानको सार्वजनिक ऋणलाई थप दबाब दिएको छ, जुन प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च अनुपातमा रहेको बताइन्छ।
देशकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसहित अघिल्ला नेताहरूले जन्मदर बढाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्, तर ठोस उपलब्धि सीमित देखिएको छ।
गत हप्ता संसद्मा बोल्दै ताकाइचीले घट्दो जन्मदर र सङ्कुचित जनसङ्ख्यालाई ‘शान्त आपतकाल’ को संज्ञा दिँदै यसले देशको जीवनशक्तिलाई बिस्तारै कमजोर पार्ने बताएकी थिइन्।
फेब्रुअरी ८ मा सम्पन्न चुनावमा ताकाइची नेतृत्वको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले दुईतिहाइ बहुमत हासिल गरेको छ।
यद्यपि जनसङ्ख्या सङ्कट समाधानका लागि आप्रवासन विस्तार उपयोगी हुन सक्ने विश्लेषण भइरहे पनि ‘जापानी पहिलो’ नारा अघि सारेको सान्सितो पार्टीको दबाबका कारण सरकारले आप्रवासनमा कडा नीति अपनाउने सङ्केत दिएको छ।