जेठ ३ गते ।
युवाहरुको क्षमता बिकास गर्ने उदेश्य सहित नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा ३ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका भित्रका युवाहरुलाई लक्षित गर्दै महासंघले बैशाख ३१ गतेदेखि सुरु गरेको तालिम शनिबार सम्पन्न गरेको हो । तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष जुवेर अहमद खाँले समाज परिवर्तनको सशक्त माध्यम पत्रकारिता र सञ्चार माध्यम भएकाले तालिममा सिकेका कुरालाई व्यबहारमा लागु गर्नुपर्ने बताए । पत्रकारिता पेशामा अवसरसँगै चुनौती पनि आउने भएकाले चुनौतीको सामना गरि भुईतहका आवाजलाई सरकार र सम्बन्धित निकायमा पुरर्याउन समन्वयकारी भुमिका खेल्न सक्ने बन्न तालिममा सहभागीहरुलाई आग्रह समेत गरे । त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष तथा प्रशिक्षक नारायण पौडेलले आवाज विहिनहरुको आवाजलाई सशक्त रुपमा बाहिर ल्याउन असल पत्रकारिता गर्नुपर्ने बताए । उनले समाजमा रहेका हरेक प्रकारका असमानता, विभेद र अन्यायका विरुद्ध आवाज उठान, कलम चलाउनका निम्ती बेलाबेलामा मिडिया सम्बद्ध संस्थाहरुले तालिम, गोष्ठि तथा विभिन्न कार्यक्रमहरुको आयोजना गर्नु पर्नेमा जोड दिए । पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष मनोज पौडेलले पत्रकारिता तालिममा सहभागि बनेर अहिले स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यमहरुमा कयौं पत्रकारहरुले काम गरिरहेको भन्दै अहिले पनि सहभागिहरुमा उत्साह र जाँगर रहेकोले त्यसलार्ई जिवन्त राख्न आग्रह गरे । तालिममा प्राप्त ज्ञान, सिप र दक्षतालाई व्यवहारमा लागु गर्नु पर्ने पौडेलको भनाई छ । महासंघ अध्यक्ष डिलाराम भुसालले सहभागिहरुलाई छोटो समयमा सिकाईलाई महत्वपुर्ण रुपमा लिई हरेक क्रियाकलापहरुमा उत्साहजनक सहभागिता जनाएकोमा धन्यवाद समेत दिए । आगामि दिनमा यस्तै तालिमहरुको आयोजना गरि अझ बढि कुराहरु सिकाउने भन्दै उनले त्यसका लागि अब समाजमा रहेका हरेक बिषयबस्तुको उठान गरि समाचार लेखि स्थानिय पत्रपत्रिका, रेडियो र अनलाईनहरुमा प्रकाशन गर्न सहभागिहरुलाई सुझाव समेत दिए । त्यस्तै सहभागिको तर्फबाट बोल्दै रामेश्वर मिश्र र मकसुद महमद मुसलमानले ३ दिनको तालिमले आफुहरुमा आत्मबल बढ्नुका साथै क्षमता अभिवृद्धि भएको भन्दै समग्रमा तालिम सोचे भन्दा पनि फलदायी भएको उनीहरुले बताए । ३ दिने आधारभुत पत्रकारिता तालिमका विषयहरुमा आम सञ्चार, सञ्चार पत्रकारिताको अवधारणा, सुचनाको हक, आचार संहिता, समाचार वाचन, लेखन, सम्पादन, रेडियो पत्रकारिता, अन्र्तवार्ता र पत्रकारिता क्षेत्रको अनुभव आदान प्रदान लगायतका रहेका थिए ।।
कपिलबस्तु जिल्लाको यसोधरा गाउँपालिकाको सभाहलमा बैशाख ३१ देखि जेठ २ गते सम्म सञ्चालन भएको तालिममा पत्रकार तथा पत्रकार महासंघ कपिलवस्तुका निवर्तमान अध्यक्ष किरणमान बज्राचार्य, उपाध्यक्ष तथा बुटवल टुडेका बरिष्ठ संवाददाता खगप्रसाद चापागाई, कार्यक्रम संयोजक तथा रेडियो परिवर्तनका स्टेशन म्यानेजर भुपाल थापा, पत्रकार अनिल कुमार मालीले तालिमको सहजीकरण गरेका थिए । तालिममा यसोधरा गाउँपालिकाका ८ वटै वडाका प्रशिक्षार्थीहरुको सहभागिता रहेका थियो ।