कपिलवस्तु
साना किसान कृषि सहकारी संस्था लिमिटेड, निग्लिहवाको ९औँ वार्षिक साधारण सभा कपिलवस्तु नगरपालिका–९ स्थित श्री कनकमुनि माध्यमिक विद्यालयको प्राङ्गणमा संपन्न गरिएको छ । सभामा उपनिर्वाचन समेत गरिएको हो । २ हजार ४ सय २७ जना शेयर सदस्य रहेको सभामा सभामा १३ वटा प्रस्ताव पारित गरिएको छ । यस्तै सदस्यहरूलाई १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरिएको ब्यवस्थापक बसन्त मुराउले बताए । यस्तै रिक्त अन्तरसमूह नम्बर ८ बाट सञ्चालक प्रतिनिधिमा मीरा चौधरी निर्वाचित भएको ब्यवस्थापक मुराउले बताए ।संस्थाकी अध्यक्ष सुलोचना पराजुलीले प्रगति प्रतिवेदन प्रस्तुत तथा लेखा समितिकी संयोजक अमृता नेपाली हमालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन । सभामा मंसिर १३ गते दिवंगत सदस्य रामसजन केवटको सदस्य सुरक्षा योजनाअन्तर्गत बीमा रकम रु. ३ लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा एक दर्जन बढी कृषकहरुलाई पशुकालागि चाहिने भिटामिन, २ कृषकलाइृ स्प्रे टंकी लगायतका सामाग्री बितरण गरिएको थियो । यस्तै उत्कृष्ठ समुहलाई नगदले पुरस्कृत समेत गरिएको थियो ।

आर्थिक वर्ष २०८१÷०८२ मा १२ करोड २७ लाख १२ हजार २५४ को कारोवार गरेको र कुल सम्पत्ति रु. २८ करोड ८१ लाख ३६ हजार ७५ पुगेको मुराउले बताए । गत आर्थिक वर्षमा संस्थाले कृषि सम्बन्धी विभिन्न निकायसँगको समन्वयमा माटो परीक्षण, मकै तथा विभिन्न जातका तरकारीका बीउ सशुल्क वितरण, पशु उपचार (भेटेरिनरी) सेवा, लागत साझेदारीमा सामग्री बिक्रीलगायत कार्यक्रम सञ्चालन गरेको थियो । त्यसैगरी तरकारी खेती तथा गाई–भैंसी, बाख्रा र बङ्गुर पालनलाई व्यवसायिकरण गर्न साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, इलाका कार्यालय बुटवलसँगको सहकार्यमा एक अङ्कको ब्याजदर सुविधासहित कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले अयक्षगुना नाम मोही उत्पादन गरी बजारीकरण गर्दै आएको छ । संस्थाले दुध संकलन र डेरी खोलेर कारोवार समेत गर्दै आएको छ । कार्यक्रम संस्थाकी सह प्रबन्धक सीता वाग्लेको सञ्चालनमा भएको थियो ।