न्यूनतम सेवा मापदण्ड ( एमएसएस ) मा कपिलवस्तु अस्पतालको ९० अंक

70

कपिलवस्तु ८ फागुन
समस्या र चुनौतीका बिच कपिलवस्तु अस्पतालले नयूनतम सेवा मापदण्ड ( एमएसएस )कार्यान्वयनमा ९० अंक ल्याएको छ । कांग्रेस र एमाले नेताका लडाईले मेसु बिहीन बनेको अस्पतालले न्युन जनशक्ति तथा निमित्त मेसुको भरमा चल्दा समेत सो अंक हासिल गरेको हो । बिगत ६ महिना यता अस्पताल मेसु बिहिन अवस्थामा छ । बिहिबार कपिलवस्तु अस्पतालमा भएको आर्थिक वर्ष २०८१÷०८२ को न्यूनतम सेवा मापदण्ड कार्यान्वयन अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा उक्त तथ्यांङक सार्वजनिक गरिएको हो । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन तथा समिक्षा कार्यक्रममा बर्दिया अस्पतालका प्रमुख तथा न्युनतम सेवा मापदण्ड स्रोत व्यक्ति डा. विजय उपाध्यायले कपिलवस्तु अस्पतालले ९० प्रतिशत अंक प्राप्त गरेको घोषणा गरे । तोकिएको सूचकमा केन्द्रित भई स्थलगत अनुगमन तथा मुल्यांकन गरि अस्पताललाई नंम्बर उपलब्ध गराएको उनले जानकारी दिए । अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहर मैला व्यवस्थापन लगायतलाई आधार मानेर न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको जनाइएको छ । न्यूनतम सेवा मापदण्ड समिक्षा कार्यक्रममा अस्पतालको अवस्था बारे कपिलवस्तु अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट राकेश कुमार साहले न्यूनतम सेवा मापदण्ड कार्यक्रमले आफूले दिने सेवामा के कमजोरी छ ? र कसरी समाधान गर्न सकिन्छ ? भन्ने जानकारी पाउँदा अस्पतालको सेवा प्रवाहमा सहज भएको बताए । अनुगमन मुल्यांकन गर्नको लागि आएका लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कन्सलटेन्ट कम्युनिटि फिजिसियन डा. अच्यूत कुमार शर्मा न्यौपाने, जनस्वास्थ्य अधिकृत तथा एमएसएस फोकल पर्सन अस्मिता नेपाल, र एम.एस.एस अफिसर सन्देश पौडेलको टोलीले मूल्यांकन गर्दा कपिलवस्तु अस्पतालले उक्त प्रतिशत अङ्क प्राप्त गरेको अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाले जनाए । कार्यक्रममा अस्पतालको अवस्था, सेवा प्रवाह, डिपार्टमेन्ट, जनताले पाउने सेवा सुविधाको बारेमा अस्पतालका मेडिकल अधिकृत विजय कुमार चौधरीले जानकारी गराएका थिए । कार्यक्रममा कपिलवस्तु अस्पतालको व्यवस्थापन समितिमा भईरहेको समस्या देशभरकै समस्या भएको बताइएको थियो । उक्त समस्याको समाधानको लागि सबै निकाय गम्भिर भएर लाग्नु पर्ने उनीहरुको भनाई थियो । जिल्ला अस्पतालको रुपमा रहेको कपिलवस्तु अस्पताल सेकेण्डरी ए लेवलको अस्पताल हो । गत वर्ष यो अस्पतालले यस खालको मूल्यांकनमा ९४ प्रतिशत अंक प्राप्त गरेको थियो । अघिल्लो वर्ष ९६ प्रतिशत अंक प्राप्त गरेको थियो । सन् २०२२ मा ८३ प्रतिशत र सन् २०२१ मा ६० प्रतिशत अंक प्राप्त गरेको सूचना अधिकृत शुक्लाले बताए । अस्पतालमा रिक्त रहेका जनशक्तिको पदपुर्तिकालागि सुचना निकालिएको छ । अस्पतालमा प्रभावकारी सेवा उपलब्ध गराउनु पर्ने माग गरिएको थियो । कपिलवस्तु अस्पतालका अस्पताल बिकास समितीका अध्यक्ष शिवलाल यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिती कपिलवस्तुका समन्वय अधिकारी एवं सल्लाहाकार समिति संयोजक जर्नादन अधिकारी रहेका थिए । स्वास्थ्य बीमा बोर्डका कपिलवस्तु जिल्ला संयोजक बशिष्ठ तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकृत रत्नाकर शुक्लाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.