कपिलवस्तु ४ फागुन
कपिलवस्तुको बाणगंगा नगरपालिका–८, बोडगाउँमा मालपोत तथा नापी कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ । नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार स्थापना गरिएको सो कार्यालयबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु भएको हो । तौलिहवा बासीले शनिवार भुमी सुधार तथा मालपोत कार्यालयबाट गाडीमा कागजात र सामान ओसार्नेक्रममा अवरोध गरेका थिए । तौलिहवा, चन्द्रौटा पछि यो मालपोतको जिल्लामा तेश्रो कार्यालय हो । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यालयको पानसमा दिप प्रज्जवलन पछि रिबन काटेर सेवा उदघाटन गर्दै सेवा शुभारम्भ गरेका हुन । मन्त्री अधिकारीले स्थानीयवासीलाई अब जग्गा नापजाँच, नामसारी, धनीपुर्जा प्रमाणीकरण जस्ता सेवाहरू सहज रूपमा उपलब्ध हुने बताए । उनले सेवा छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले सरकारी सेवाहरू जनताको पहुँचमा ल्याउने सरकारको नीति अनुरूप कार्यालय स्थापना गरिएको बताउँदै भूमिसम्बन्धी अनियमितता, ढिलासुस्ती तथा विचौलियाको भूमिकामा कडाइ गर्न निर्देशन दिए । कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले स्थानीय तहमा कार्यालय स्थापना हुनु ठूलो उपलब्धि भएको बताईन । उनले प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताईन । लुम्बिनी प्रदेश सदस्य गिरिधारीलाल न्यौपानेले कार्यालय सञ्चालन भएसँगै स्थानीयवासीलाई सहज र छिटो सेवा उपलब्ध हुने बताए । उनले भूमि व्यवस्थापनमा देखिएको जटिलता समाधान गर्न र जनतालाई प्रभावकारी सेवा दिन कार्यालयलाई आवश्यक सबै सहयोग प्रदान गरिने बताए । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले कार्यालय स्थापनाले स्थानीयवासीलाई धेरै राहत मिल्ने बताउँदै सेवाग्राहीलाई छिटो र सरल सेवा दिन आग्रह गरे । उनले भविष्यमा थप सेवा विस्तारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘ नगरपालिकाको तर्फबाट कार्यालयलाई आवश्यक सहयोग तथा समन्वय गर्न सधैं तत्पर छौं उनले भने । कार्यालय सञ्चालनको पहिलो दिन बाण्गंगाका दुइ जनाले सेवा लिएका छन् । सेवाग्राहीहरूले कार्यालय स्थापना भएसँगै अन्यत्र जानुपर्ने बाध्यता हटेकोमा खुशी व्यक्त गरे ।