यशोधरा गाउँपालिकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अनिरुद्ध पब्लिक स्कुल बैदोली विजयी
कपिलवस्तु, यशोधरा गाउँपालिका – यशोधरा गाउँपालिकाको आयोजनामा सम्पन्न दोस्रो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अनिरुद्ध पब्लिक स्कुल, बैदोलीले जितेको छ। अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयले कुल ९ गोल्ड मेडल, ५ सिल्भर मेडल र ६ ब्राउन मेडल सहित प्रथम स्थान हासिल गरेको छ। श्री राष्ट्रिय माध्यमिक विद्यालयले ४ गोल्ड मेडल, ३ सिल्भर मेडल र २ ब्राउन मेडल सहित दोस्रो स्थान प्राप्त गर्यो। जगन्नाथ माध्यमिक विद्यालयले ४ गोल्ड मेडल, २ सिल्भर मेडल र ६ ब्राउन मेडल जितेर तेस्रो स्थानमा रह्यो। गाउँपालिका सुठौली खेलमैदानमा तीन दिनसम्म चलेको यस प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्सलगायतका खेलहरू समावेश गरिएका थिए।

खेल संयोजक मोहित मिश्राका अनुसार प्रतियोगितामा ७ माध्यमिक विद्यालय र ११ निम्न माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए। विजेताहरुलाई प्रमुख अतिथि पूर्व न्याय तथा कानून मन्त्री बृजेश कुमार गुप्ता र विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्व शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
साथै गाउँपालिकाका प्रमुख शिव दयाल तिवारी, प्रमुख प्रशासकीय अधिकृत ऋषभ देव खनाल, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दृग नारायण मिश्र, र वडा अध्यक्षहरूले पनि कार्यक्रमलाई थप गरिमा प्रदान गरे। यस प्रतियोगिताले स्थानीय खेलकुदको विकास र प्रतिभावान खेलाडीहरूको पहिचानमा महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताए। कार्यक्रमले गाउँपालिकास्तरमा खेलकुदको महत्वलाई उजागर गर्दै खेलाडीहरूको आत्मविश्वास र क्षमता अभिवृद्धिमा टेवा पु(याएको छ। आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताको निरन्तरताका लागि सबै पक्ष प्रतिबद्ध रहेको खेल संयोजक मिश्राले बताए।