कपिलवस्तु उपनिर्वाचन सरगर्मी तीव्र, चार दलका उम्मेदवारबीच प्रतिस्पर्धा

521

कपिलवस्तुको सुद्धोधन गाउँपालिका–१ मा मंसिर १६ गते हुने उपनिर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तात्तिएको छ। ४ हजार ८६८ मतदाता रहेको यस वडामा प्रमुख चार दलका उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बनेको छ। चुनावमा १० दल र ४ स्वतन्त्रसहित १४ जना उम्मेदवार छन्। प्रमुख चार दलका उम्मेदवारहरूमध्ये कांग्रेसका दिनेश कुमार यादव, एमालेका मोहम्मद ताहिर मुसलमान, माओवादी केन्द्रका मोहम्मद रफिक मुसलमान, र जनतम पार्टीका सिताराम पटेल कुर्मीबीच कडा प्रतिस्पर्धा हुने मतदाताहरू बताउँछन्।

निर्वाचनका लागि ३ स्थानमा ६ मतदान केन्द्र स्थापना गरिनेछ। सहायक निर्वाचन अधिकृत अमर ओलीका अनुसार, प्रत्येक केन्द्रमा ५ कर्मचारी र एक स्वयंसेवक खटाइनेछ। मतदान केन्द्रमा कर्मचारीहरू मंसिर १३ गतेसम्म पुगिसक्ने छन्। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार, सुरक्षाको लागि तीन तहमा घेराबन्दी गरिनेछ। पहिलो घेरामा नेपाली सेना रहनेछ भने दोस्रो र तेस्रो घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइनेछन्। नेपाल प्रहरीका १ सय ६४, सशस्त्र प्रहरीका २९ जना र अन्य आवश्यक सुरक्षा कर्मचारीहरू परिचालित हुनेछन्। साथै, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र मोबाइल टोली पनि तैनाथ गरिनेछ। मंसिर १३ गते राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरू प्रचारप्रसारमा तीव्र रूपमा जुटेका छन्। यस अवधिमा मतदाता र उम्मेदवार दुवै उत्साहित देखिएका छन्।

Leave A Reply

Your email address will not be published.