कपिलवस्तु, । आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कपिलवस्तु नगरपालिका तौलिहवाको होटल शंकरमा आयोजित कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पोडेलले सहकारीको सफल व्यवस्थापनको प्रशंसा गर्दै देशभर सहकारीहरू समस्यामा परेको बेला यस संस्थाले शेयर सदस्यलाई बोनससमेत दिनु सकारात्मक पक्ष भएको बताए। उनले सहकारीको उत्कृष्ट व्यवस्थापनप्रति आभार व्यक्त गर्दै आफू पनि सहकारीको शेयर सदस्य बन्ने घोषणा गरे।
कपिलवस्तु नगरपालिका वडा नं. ३ का अध्यक्ष प्रकाश गैरेले खुला सिमानाका कारण व्यापार व्यवसाय ठप्प हुने अवस्था आएको र सहकारी ऋण तिर्न व्यवसायीहरूलाई कठिनाइ भएको बताउनुभयो।
सहकारीका अध्यक्ष प्रकाश घिमिरेले संस्थाले आफ्नै भवन निर्माण सम्पन्न गरिसकेको र आगामी तीन महिनाभित्र सोही भवनबाट सेवा सञ्चालन गरिने जानकारी दिए। उनले मोटरसाइकल र स्कुटर किन्नका लागि शेयर सदस्यहरूलाई कर्जा उपलब्ध गराइने योजना प्रस्तुत गरे।
संस्थाका कोषाध्यक्ष मुकेश कुमार श्रीवास्तवले आर्थिक वर्ष २०८०/०८१ मा सहकारीले रु. ४८,२९,०७४.९२ को आयव्यय कारोबार गरेको जानकारी दिए।

कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं. २ का पूर्व अध्यक्ष राम भजन कलवार, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, सहकारीका पूर्व अध्यक्ष राजु प्रसाद अर्याल, र नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण मोहन शुक्लाले गरेका थिए भने स्वागत मन्तव्य बृजेश भटराकोले प्रस्तुत गरेका थिए। सहकारीमा हाल २,४८२ जना बचतकर्ता रहेका छन्।