बुद्धभूमि नगरपालिकाको वडा नं. ४ स्थित बहुउद्देश्यीय सभा हल, बुद्धि हनुमान चौकमा योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को प्रथम नगर सम्मेलन भव्य, सभ्य र शानदार रूपमा सम्पन्न भएको छ।
यस सम्मेलनले सर्वसम्मतिले नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा लक्ष्मण पाण्डे चयन भएका छन्। साथै, वरिष्ठ उपाध्यक्षमा भुवन मरासिनी, उपाध्यक्षमा पुजा थापा क्षेत्री र आशा थारु, सचिवमा तुल्सी राम कोहार, कोषाध्यक्षमा सेतु कुमाल, र सहसचिवमा दिपा थापा क्षेत्री चयन भएका छन्। नवगठित नगर कमिटीमा ३१ सदस्यीय टोली निर्माण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादीका जिल्ला इन्चार्ज रुद्र बन्जाडेले आफ्नो मन्तव्य राख्दै, अहिलेको समय माओवादी पार्टीको लहर भएको उल्लेख गरे। उनले अबको नेतृत्व माओवादीले नै गर्नुपर्ने आवश्यकता औंल्याउँदै, वाइसिएलले देशमा विद्यमान विकृति र विसंगतिहरूको विरोध गर्दै सही दिशामा अघि बढ्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शेरमान थारु, अतिथिका रूपमा प्रदेश सचिवालय सदस्य राकेश यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता वाइसिएल नगर सचिव रावेन्द्र ठाकुर (रवी) ले गरेका थिए।