कपिलवस्तुको तौलिहवा स्थित बुद्ध ज्योति कलेजमा यस बर्ष देखि पहिलो पटक बिबिए (बेचलर अफ बिजनेस एडमिनिस्ट्रेशन) को पढाई सुरु हुने भएको छ। राजर्षी जनक विश्वविद्यालयबाट अनुमति पाएपछि शैक्षिक सत्र २०८१ बाटै यो कार्यक्रम सुरु हुन लागेको हो।
बुद्ध ज्योति कलेज तौलिहवामा बिबिए पढाई हुने दोस्रो कलेज हो। प्लस टु सकेका विद्यार्थीहरुलाई स्थानीयस्तरमै उच्च शिक्षा हासिल गर्न सजिलो बनाउन यो कार्यक्रम सुरु गरिएको क्याम्पस प्रमुख प्रकाश गैरले बताए। उनले सदरमुकाम तौलिहवालाई केन्द्र बनाएर बिबिए पढाईको तयारी तीव्र पारिएको जानकारी दिए।
अबको एक महिनाभित्र कक्षा संचालनको तयारी पुरा गर्ने लक्ष्य राखिएको छ। दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको तयारी भईरहेको छ। कक्षाकोठा र कम्प्युटर कोठामा एसी जडान गरिनेछ। साथै, अर्घाखाँची, दाङ, र प्युठानका विद्यार्थीहरुलाई पनि यस कलेजमा भर्ना गर्न प्रोत्साहित गर्न प्रचारप्रसार अभियान समेत सुरु गरिएको छ।