कपिलवस्तु ६ पुस
स्थानीय तह कर्मचारी जिल्ला संंघष समिति कपिलवस्तुको तौलिहवामा भेला संपन्न गरिएको छ । स्थानीय तहका कर्मचारीहरुको अधिकार प्राप्तीका लागि कपिलवस्तुका कर्मचारी एकजुट हुँदै जिल्ला भेला गरिएको हो । स् थानीय तह कर्मचारीले प्रदेश सरकारलाई स्थानीय कर्मचारीलाई गर्ने ब्यवहारलाई परिमार्जन गर्नुपर्ने र कर्मचारीमैत्री प्रशासन संचालन गर्न प्रदेश सांसदलाई ध्यानाकर्षण समेत गराएका छन् । लुम्बिनी प्रदेश निजामती ऐन स्थानीय तहका कर्मचारीमैत्री हुनुपर्ने माग सहित स्थानीय तहका कर्मचारीहरुको अधिकार प्राप्तिका लागी जिल्लाभरका स्थानीय तहका कर्मचारीलाई सगठित गर्ने अभिप्रायले जिल्ला भेला गरिएको स्थानीय तह कर्मचारी जिल्ला संंघष समिति कपिलवस्तुका संयोजक राजेश कुमार शैनीले बताए । संघ प्रदेश र स्थानीय तहका कर्मचारीहरुको समान अधिकार र समान व्यवहारका लागी निजामती सेवा ऐनमा समान व्यवस्था हुनुपर्ने माग गर्दै देशभरका स्थानीय तहका कर्मचारीहरु संगठित हुन थालेका छन् । लामो समयसम्म संघीय निजामती सेवा ऐन आउन नसक्दा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य अधिकारबाट समेत बन्चित भएका छन् । स्थानीय तहका कर्मचारीले प्रशासनिक संघीयतालाई थप मजबुत बनाउन लुम्बिनी प्रदेशका शासक र प्रशासकलाई आग्रह गरेका छन् । भेलामा तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरिनुपर्ने माग अगाडि सारिएको लुम्बिनी प्रदेश संयोजक निरज थापा मगरले बताए । यसैगरी, एकीकृत निजामती सेवा ऐन बन्नुपर्ने र स्थानीय तहका कर्मचारीहरूका माग र मुद्दा पूरा गराउन रचनात्मक आन्दोलन जारी राख्न भेला आयोजना गरिएको स्थानीय तह कर्मचारी संघर्ष समितिका केन्द्रिय सचिव तेजराज अर्यालले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले संघीयता कार्यान्वयनको पहिलो र महत्वपूर्ण पाटो जनशक्ति व्यवस्थापन रहेको बताए । सरकार अहिले कर्मचारी समायोजन र व्यवस्थापन गर्न खोजिरहेको जस्तो देखिएको भएपनि गम्भिरतापूवर्क काम गर्न नसकेको उनले बताए । कुनैवेला कर्मचारीको सबभन्दा रोजाइमा पर्ने स्थानीय निकायमा अहिले कर्मचारी जानै नमान्ने गरेको आफुले बुझेको बताए । स्थानीय तहमा एकपटक खटिएर गएपछि सरुवा नहुने डर कर्मचारीमा रहेका कारण यो अवस्था उत्पन्न भएको हुनसक्ने केसीको भनाई छ । यस्तै, प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले कानून नबनेसम्म कहाँ, कति जनशक्ति चाहिन्छ भन्ने यकिन नै नहुने भन्दै ऐन समयानुसार परिर्माजनका लागि आफु सदनमा कुरा उठाउने बताए । अर्का प्रदेश सभासदस्य मधुसुदन शरण चौधरीले स्थानीय तहमा खटाइने कर्मचारीलाई थप प्रोत्साहन भत्ता र तहगत बढुवा दिनु उपयुक्त हुने बताए । स्थानीय तह कर्मचारी जिल्ला संंघष समिति कपिलवस्तुका संयोजक राजेश कुमार शैनीको अध्यक्षता, कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रदेश संयोजक निरज थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । संघर्ष समितिका संयोजक सैनीको अध्यक्षता नारायाण् रेग्मीको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश पश््रसाद अर्याल लगायतले मन्तब्य दिएका थिए । भेलामा जिल्लाका पालिकास्तरीय संघर्ष समितीका संयोजकहरु, स्थानीय तहका कर्मचारीहरु, लगायतको सहभागीता रहेको थियो ।