कपिलवस्तु
गाईभैँसीमा बाझोपन हटाउन कपिलवस्तुमा ‘डोर टु डोर’ उपचार सेवा संचालन गरिएको छ । कृषकहरुलाई प्रोत्साहीत गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा कपिलबस्तु नगरपालिका २ र र बाणगंगा नगरपालिका २ वडाका गरी पचास गाईभैंसीको उपचार गरिएको हो । विज्ञ केन्द्रका प्रमुख डा. प्रवेज आलमले कृषकहरुलाई ब्यवसायिकरुप मै गाइभैसी पालनकालागि प्रोत्साहीत गर्न यो कार्यक्रम संचालन गरिएको बताए । उनले जिल्लाका व्यावसायिक रुपमा गाईभैँसीपालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको बताए । उनले दूधालु गाईभैँसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । ‘ गाईभैँसीमा बाँझोपन भयो भने प्रजनन नहुने र दूध उत्पादन पनि नहुने हुन्छ”, उनले भने, ‘ उपचारपश्चात् प्रजनन हुने र दूध उत्पादन पनि हुनेछ ।’गाईभैँसीको बाँझोपन, जुका, माटे, खनिज तत्व कमीबारे उपचार गरी पशुको प्रजनन स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु प्राविधिक राजु पौडेलले बताए । पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि किसानलाई कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको उनले बताए । भैसी पालन गरीरहेको कपिलबस्तु नगरपालिका वडा नंम्बर। १० का किसान सुलोचना पराजुलीले घरैदलो मै पुशको उपचार सेवा पाउदा खुशी लागेको बताईन । उनले सेवालाई जिल्लाभर बिस्तार गर्नु पर्ने बताईन । आफूले पालेको गाई र भैंसीमा प्रजनन नहुने समस्या रहेको र कार्यालयबाट उपचारसँगै निःशुल्क औषधि पाएको उनले बताईन । उहाँले प्रत्येक वर्ष एक पटक यस्ता कार्यक्रम गरेमा किसान लाभान्वित हुने बताईन । साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवाको सहयोग र बिज्ञ केन्द्रले यो सेवा प्रदान गरेको हो । संघका प्रबन्धक बसन्त मुराउले ब्यवसायिक दुध उत्पादन बढाउन र कृषकहरुलाई प्रोत्साहीत गर्न आफुहरुले यो कार्यक्रम हरेक बर्ष सहयोग गर्दे आएको बताए ।