कहाँ हराए लुम्बिनीका ती ऐतिहासिक मूर्ति ?

89
biddhut

भगवान् गौतम बुद्ध जन्मिएको मायादेवी मन्दिर उत्खननका क्रममा फेला परेका मूर्तिहरू अहिले कहाँ पुगे, कसैलाई पत्तो छैन । भएकै मूर्ति पनि पुरानो स्वरूपमा छैनन् । लुम्बिनीबाट रामविकास चौधरीको खोजबिन :

बुद्धका प्रतापी र सन्तीय गाथा सुन्दै हुर्केका ६५ वर्षीय जुगलकिशोर तिवारीले मायादेवी मन्दिरमा रहेका प्राचीन मूर्ति र वस्तुहरू खोज्दै गरेको वर्षौं बित्न लाग्यो । तर मनोलोकबाहेक उनले ती मूर्ति र पुरातात्त्विक सामग्री फेला पार्न सकेका छैनन् ।

प्राचीन मन्दिरभित्र रहेका मूर्तिहरूको दर्शन गर्ने उनको आस यत्तिका वर्षमा सेलाउँदै गएको छ । ‘अब सायद ती मूर्ति कहिल्यै लुम्बिनीको पवित्र माटोमा फर्किंदैनन्,’ पिरलो मान्दै लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का स्थानीय तिवारीले दुखेसो पोखे ।

मूर्ति खोजी गर्ने तिवारीको हुटहुटीले उनको मनमा दिएको सन्तापको यो अन्तिम कारण भने होइन । राजकुमार सिद्धार्थलाई जन्म दिनुपूर्व प्रसव वेदनाको समयमा माता मायादेवीले समातेको भनिएको ‘बोधी वृक्ष’ (पीपल बोट) पनि उनले देखेका छैनन् । न त उनले मन्दिरमा पूजाको समयमा साँझ र बिहान बज्ने गरेका घन्ट र शंखध्वनिको आवाजले मन आह्लादित बनाउन पाएका छैनन् ।

पुरानो मायादेवी मन्दिर
पुरानो मायादेवी मन्दिर

गएको २१ चैतमा मन्दिर परिसरमा भौँतारिँदै गरेको अवस्थामा भेटिएका उनले आफूले देखेको लुम्बिनी फेरिएको र प्राचीन मूर्तिहरू नदेखिएको बताए ।

b 4

लुम्बिनीमा अहिले पुरानै दृश्यको झल्को दिने गरी नयाँ मन्दिर बनाइएको छ । मायादेवीले स्नान गरेको पुस्कारिणी पोखरीलाई सिँगारिएको छ । दक्षिणतर्फ पीपलबोटको छहारीमुनि लुम्बिनीको मौलिकतालाई प्रतिध्वनित गर्न ‘बुद्धम् शरणम् गच्छामी’को पवित्र स्वर सुनेको अनुभव उनीसँग छ ।

यद्यपि, ऐतिहासिकताको झल्को दिने प्राचीन मूर्ती र पुरातात्त्विक सामग्री नहुँदा मन्दिरको गजुरमा रौनकता छैन । मन्दिरको छानामा बसेका असंख्य परेवा त्यहाँ शान्तिको सौम्यतालाई होइन, पुराना सामग्री हराएको ढोँग र क्रूरता प्रकट गरिरहेको आभास दिइरहेका देखिए, चिरबिरविहीन भएर ।

हालको मायादेवी मन्दिर
हालको मायादेवी मन्दिर

तत्कालीन लुम्बिनी गाउँको सुन्दर बगैँचाभित्र पवित्र पोखरीछेउमा रहेको मन्दिरअगाडि पिपलको रूखमुनि मायादेवीको कोखबाट इसापूर्व ६२३ मा शान्तिका अग्रदूत महामानव बुद्धले प्रथम पाइला टेकेका थिए । बुद्धले राजकुमार सिद्धार्थका रूपमा पहिलो सास फेर्दा यसै भूमिमा प्रथम ७ पाइला टेकेको बुद्ध धर्मग्रन्थहरूमा उल्लेख छ ।

हुन त राजकुमार सिद्धार्थ (भगवान् बुद्ध)को न्वारान भएको लुम्बिनी त्यसै पवित्र र महत्त्वपूर्ण छ । उनलाई जन्म दिनुपूर्व मायादेवीले स्नान गरेको पवित्र पुस्कारिणी पोखरी, त्यहाँको बोधी वृक्ष (पीपल बोट), बुद्धको जन्म स्मारक शिला (मार्कर स्टोन) र अशोक स्तम्भ लुम्बिनीका महत्त्वपूर्ण र मुख्य सम्पदा हुन् ।

बुद्ध जन्माकृंत महामायाको प्राचीन मूर्ति, तामाको बुद्ध मूर्तिलगायत सामग्री लुम्बिनीका अन्य ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा हुन् । तर, उत्खननका बेला त्यहाँका अधिकांश सम्पदा कि त बिगारिएका छन्, या एक–एक गर्दै हराइरहेको स्थानीयबासीको आरोप छ ।

‘सन् १९९२ मा प्राचीन मायादेवी मन्दिरको उत्खननको समयमा मन्दिर र परिसरभित्र गरी ३९ वटा मूर्ति र महत्त्वपूर्ण चिज वस्तुहरू रहेको लेखा छ,’ स्थानीय पर्यटन व्यवसायी हुसेनी लोध भन्छन्, ‘जसलाई मन्दिरका मुख्य पुजारी गंगाप्रसाद पाण्डेलगायत लुम्बिनी विकास कोषका पदाधिकारी–कर्मचारीले प्रमाणित गरेका थिए ।’ अहिले ती मूर्तिहरूबारे खोजीनिती हुनुपर्ने उनको माग छ ।

‘प्रमाणित ३९ थानमध्ये मायादेवी मन्दिरभित्र रहेको बुद्ध जन्मांकृत मुख्य मूर्तिको माथिल्लो भागको दाहिनेतर्फ देवताहरूले पुष्पवृष्टि गर्दै गरेको भाग काटेर निकालिएको छ भने मार्बलको १ थान मूर्ति नजिकैको नेपाल मन्दिरले सजाएर राखेको छ,’ लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का स्थानीय पण्डित वीरेन्द्र मिश्रले भने, ‘संग्रहालयमा फुटेका २ मूर्तिबाहेक अन्य ३५ मूर्ति र सामग्रीहरू लुम्बिनीमा देखिएका छैनन् ।’

हेर्नुस् तस्बिर-

प्राचीन लुम्बिनीबासी तथा हाल शुद्धोधन गाउँपालिका कपिलवस्तुका निवर्तमान अध्यक्ष नेसार अहमद खाँले भने, ‘लुम्बिनीका स्थानीय अवैतनिक पहरेदारहरूलाई २०३० को दशकमा विकास कोषले बेघर बनाएपछि ती प्राचीन चिजबिज हराउने र सदियौँदेखिको परम्परा निर्वाह नगरिने स्थिति उत्पन्न भएको हो ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाका निवर्तमान प्रमुख मनमोहन चौधरी लुम्बिनीको सम्पदा संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय व्यक्तिलाई दिनुपर्ने बताउँछन् । मायादेवी मन्दिरका तत्कालीन अवैतनिक संरक्षक तथा तत्कालीन राजा महेन्द्रबाट ‘लुम्बिनी गार्डेनको म्यानेजर’ मान पदवी पाएका स्वर्गीय शिवशरणप्रसाद चौधरीका नाति उनले लुम्बिनीका स्थानीय अवधेशकुमार त्रिपाठी लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि छोटो समयमै संरक्षण र विकासमा उल्लेख्य काम भएको बताए ।

‘लुम्बिनीको माटोमा कहिल्यै नदेखिने गरी हराएको भनिएका मूर्ति र पुरातात्त्विक महत्त्वका सामानको खोजीनिती हुनुपर्छ, सरकारले नगरे हामी गर्छौं,’ उनले भने, ‘विकास कोषले लुम्बिनी सम्पदाको संरक्षण र विकासका लागि स्थानीय खोजकर्ता, विज्ञ र बुद्धिजीवीलाई प्रयोग गर्नुपर्छ ।’

करिब ११ वर्षअघि लुम्बिनीमा छायांकन भएको बिबिसी साझा सवाल (अंक २१५) कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रीले सन् १९९३ मा मायादेवी मन्दिर भत्काइँदा पवित्र पीपल बोट (बोधी वृक्ष) काटेर जापान पुर्‍याइएको बताएका थिए । जापानमा त्यही बोधी वृक्षबाट उत्पादित काठको पिर्का ५–५ सय डालरमा बिक्री भएको उनको दाबी थियो ।

उक्त कार्यक्रममा तत्कालीन संस्कृतिमन्त्री गोपाल किराँती, पूर्वसंस्कृतिमन्त्री मीनेन्द्र रिजाल र लुम्बिनी विकास कोषका तत्कालीन उपाध्यक्ष कर्मा स्याङ्बो शेर्पालगायत कोषका विभिन्न महत्त्वपूर्ण पदाधिकारी–कर्मचारीसमेत सहभागी थिए । तर, भिक्षु मैत्रीले उठाएको प्रसंगमा कसैले पनि टिप्पणी गर्न वा प्रतिवाद गर्न सकेनन् । सबै जिम्मेवार व्यक्तिहरूले यसबारे अनभिज्ञता प्रकट गरे । वा, यस विषयमा थप कुरा गर्नै चाहेनन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य हराइरहेका मूर्ति, महत्त्वपूर्ण सामग्री र काटिएको पीपल बोटबारे आफूलाई जानकारी नभएको बताउँछन् । यसअघिका सदस्यसचिव अजितमान तामाङको प्रतिक्रिया पनि उस्तै छ । तर, लुम्बिनी विकास कोषका सूचना प्रमुख हरि राईले पीपल बोटको जराले मौर्यकालीन ‘एन्टिक’ इटाहरू नष्ट गरिरहेकाले युनेस्कोको सल्लाहबमोजिम त्यहाँबाट हटाएको बताए ।

dengu 3 1

लुम्बिनी विकास कोषका मुख्य पुरातत्वविद् तथा पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले तत्कालीन मायादेवी मन्दिरमा रहेका मूर्ति र सामग्रीहरू उत्खननको समयमा लुम्बिनीस्थित पुरातत्त्व महाशाखा र संग्रहालयको स्टोरमा राखिएको बताए । उनले भने, ‘संग्रहालयलाई रिनोभेसन गरेर सबै सामग्रीहरू डिस्प्लेमा ल्याउने गरी बुद्ध फाउन्डेशनसित एग्रिमेन्ट भएको छ ।’ तर, ती मूर्तिहरू हाल स्टोरमा नभएको समाचार स्रोतको दाबी छ ।

सन् १९७० मा संयुक्त राष्ट्रसंघको अगुवाइमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन भएको थियो । समितिले त्यसै वर्ष जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो तांगेलाई लुम्बिनी विकासको गुरुयोजना बनाउन नियुक्त गरेको थियो । प्रो. तांगेले बनाएको गुरुयोजनालाई सन् १९७८ मा नेपाल सरकारले स्वीकृति प्रदान गरेको थियो ।

सन् १९८५ मा लुम्बिनी विकास कोष ऐन २०४२ को प्रावधानअनुसार प्रो. तांगेद्वारा तयार पारिएको लुम्बिनी विकासको ‘मास्टर प्लान’ कार्यान्वयन गर्न तथा कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका बौद्ध तीर्थस्थलमा छरिएर रहेका स्थलहरूको अन्वेषण, उत्खनन र संरक्षण तथा प्रवद्र्धन गर्न लुम्बिनी विकास कोष गठन भएको थियो ।

तत्कालीन श्री ५ को सरकारले लुम्बिनीमा उत्खनन र विकासको काम गर्न पहिलो पटक २०३० साल र दोस्रो पटक २०३६ सालमा जग्गा अधिग्रहणको काम गरेको थियो । ‘मास्टर प्लान’अनुसार १ हजार १ सय ५० बिघा क्षेत्रफलभित्र रहेका स्थानीयका घरजग्गा अधिग्रहण गरेपछि लुम्बिनीबासी विस्थापित भएका हुन् । त्यसपछि मात्र त्यहाँका महत्त्वपूर्ण मूर्ति र पुरातात्त्विक महत्त्वका चिज वस्तुहरू हराउन थालेको लुम्बिनीका स्थानीय बताउँछन् ।

उत्खनन क्रममा प्रमाणित गरिएका मूर्ति तथा ऐतिहासिक वस्तु :

क) मन्दिरको भित्री भागमा रहेका–

१. बुद्ध जन्मांकृत मायादेवीको पवित्र मूर्ति (करिब १.८० सेमी लम्बाइ, ९८ सेमी चौडाइ) : १

२. बुद्ध जन्मांकृत मायादेवीको मार्बलको मूर्ति (करिब १.०७ सेमी लम्बाइ र ६४ सेमी चौडाइ) : १

३. पत्थरको युगल मूर्ति (करिब ६२ सेमी लम्बाइ) : १

४. दुवै हात भाँचिएको कमलमा उभिएको मार्बलको बुद्धको मूर्ति (करिब ५९ सेमी लम्बाइ) : १

५. आसनसहित उभिएको तामाको बुद्ध मूर्ति (करिब ४५ सेमी लम्बाइ) : १

६. धातुको गणेशको मूर्ति (करिब २५ सेमी लम्बाइ) : १

७. दुर्गा भगवतीको धातुको मूर्ति (करिब २५ सेमी लम्बाइ) : १

८. धातुको चाँदवी बुद्ध मूर्ति (मणिहर्ष ज्योति) किनारामा लेखिएको : १

९. ढलोटको गणेशको मूर्ति : १

१०. भगवतीको मूर्ति : १

११. धातुको घन्ट सिक्रीसहित : १

१२. बत्ती जलाउने धातुका दीपदानी (करिब ९० सेमी लम्बाइ भएका) : २

१३. बत्तीका लागि प्रयोग हुने धातुको झालर (ठुलो २, सानो २) : ४

१४. चालु अवस्थाको भित्तेघडी : १

ख) मन्दिर परिसरमा रहेका–

१५. टाउको नभएको नारी मूर्ति (करिब ८० सेमी लम्बाइ, ६७ सेमी चौडाइ) : १

१६. गणेशजस्तो देखिने शिरको भाग मात्र भएको (४४ सेमी लम्बाइ, ६६ सेमी चौडाइ भएको) : १

१७. करिब ४४ सेमी उचाइ र २२ सेमी चौडाइ भएको अप्रमाणित मूर्ति : १

१८. विभिन्न आकृति भएका अप्रमाणित मूर्ति र अन्य वस्तुहरू : १८

विकास टाइम्स बाट प्रकाशित  

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.