एक महिनामा चट्याङ लागेर ५ जनाको मृत्यु ४३ जना घाइते

79

 काठमाण्डाैँ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा चट्याङ लागेर ५ जनाको ज्यान गएको छ । ४३ जना घाइते भएका छन्।  वैशाख १ गतेदेखि हिजोसम्ममा चट्याङका ४४ वटा घटना भएका छन् । यसमा परेर पाँच जनाको ज्यान गएको हो भने ४३ जना घाइते भएका छन्। चट्याङ लागेर घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । गएराति चट्याङ लागेर दैलेखमा एकै घरका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विकलाई सुतिरहेकै बेला चट्याङ लागेको हो । उनीहरुको उपचार भइरहेको छ  । हिजो पहाडी क्षेत्रका धेरैजसो ठाउँमा हावाहुरी र मेघगर्जनसहित चट्याङ परेको थियो।

आज पनि पहाडी जिल्लामा दिउँसो पछि हुरीबतास र मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार विशेषगरी आज बाग्मती, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङ पर्ने सम्भावना छ। चट्याङ नपरे पनि तराईका जिल्लामा हावाहुरीको जोखिम भने रहेको उहाँले बताउनुभयो । मौसमविद्का अनुसार प्रि-मनसुनमा चट्याङ धेरै पर्छ। प्रि–मनसुनमा दिउँसो पछि मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । अझै तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ। स्राेतः उज्यालाे अनलाइन्

 

 

 

b 4
Leave A Reply

Your email address will not be published.