काठमाण्डाैँ । स्याङ्जाकाे अर्जुन चौपारी गाउँपालिकाले समयमा काम नगर्ने कन्स्ट्रक्सन लाइ दैनिक जरिवाना तिराउने भएकाे छ । गाउँपालिकाले किरातेश्वर कन्स्ट्रक्सन ब्रिलिङ कम्पनी प्रालि सुकेधारा काठमाडौँलाई गाउँपालिकाको प्रशासकीय भवन समयमै निर्माण नगरेपछि दैनिक ३२ हजार ४९२ रुपियाँ ४७ पैसा जरिवाना गर्ने भएको हाे । जेठ १ गतेबाट लागु हुने गरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२१ बमोजिम पालिकाको वैशाख १३ गतेको कार्यपालिका बैठकले उक्त निर्णय गरेकाे हाे ।
२०७७ पुस १५ गते १५ महिनामा काम सक्ने गरी सम्झौतामा गरेकोमा थप १५ महिनामा समेत भवन निर्माण नभएपछि जरिवाना गरिएको हो । प्रशासकीय भवन निर्माणको जम्मा लागत सात करोड ४१ लाख ५८ हजार ३८७ रुपियाँ ९० पैसाको ०.०५ प्रतिशत दैनिक जरिवाना गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत उत्वल बहादुर बस्नेतले बताउनुभयो । भवन निर्माणको सबै काम सक्न अझै १५ दिन लाग्ने बताउँदै इन्जिनियर सन्दीप बोगटीले भवन हस्तान्तरण नगर्ने समयसम्म जरिवाना हुने बताउनुभयो ।
साढे चार तला, एक हलसहित ३२ कोठा रहेको भवनमा पालिकाले दिएको वैशाख ३१ गतेसम्म हलको छाना छाउन र झ्यालको ग्रिललगायतका काम हुन बाँकी छ ।मूल्य समायोजन गरेर ३२ लाख रुपियाँ थप भुक्तानी लगेको निर्माण कम्पनीले थप १५ महिनामा निर्माणमा नसकेको हो । पालिका भवन ३० रोपनी जग्गा नेपाल सरकारबाट ३० वर्षका लागि भाँडामा लिएर निर्माण गरिएको हो । कोभिडका कारण भवन निर्माणमा ढिलाइ भएको बताउँदै निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्र चापागाईँले कार्यपालिकाको निर्णय र भवन निर्माण ऐन भित्र रहेर तोकेको जरिवाना तिर्ने बताउनुभयो ।