काठमाडौँ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी एवम पुर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरेकाे छ ।
बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा काठमाडौं प्रहरी परिसरले अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ८७५ नेपालीसँग भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ रहेकाे अनुसन्धानमा खुलेकाे हाे ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।