काठमाण्डाै । काठमाण्डौ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ । आज बिहान साढे ९ बजे हावाको गुणस्तर मापक सूचक (एक्यूआई) अनुसार काठमाण्डौ दोस्रो सूचीमा रहेको हो ।केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । काठमाण्डौको एक्यूआई अहिले १ सय ९२ रहेको छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर छ । च्याङमाइको एक्यूआई २ सय २२ रहेको छ ।यस्तै, तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता रहेको छ ।
डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् । एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ ।५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ ।