नेपाली कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ १ प्रतिनिधिसभा निर्वाचनमा क्षेत्रमा उम्मेदवार बन्न पार्टीका १३ नेताले दरखास्त हालेका छन् । पार्टीले आवेदन माग गरेपछि शुक्रवार र शनिबार गरी १३ जनाले उम्मेदवार बन्न पार्टीमा आवेदन दिएका हुन् ।केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेलले शुक्रवार पार्टीमा आवेदन दिएका थिए । महाधिवेशन प्रतिनिधिहरू दीपक भट्टराई, रामचन्द्र अधिकारी, लक्ष्मी आचार्य र विष्णु पन्तले पनि दरखास्त हालेका छन् ।
उम्मेदवार बन्नका लागि रामचन्द्र पोख्रेल, तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदारले पनि आवेदन हालेका छन् । सरिता गुरुङ, डोबाटे विश्वकर्मा र अर्जुनबहादुर अधिकारीको पनि निवेदन परेको छ । उम्मेदवारको अन्तिम टुंगो भने पार्टी केन्द्रले लगाउनेछ । चैत २० गते उम्मेदवार मनोनयन गर्नुपर्नेछ ।