मन्त्रालय भागबण्डाको खाका टुंग्याएका प्रचण्डले त्यसलाई कार्यान्वयन गर्ने क्रममा पार्टीको तर्फबाट मन्त्री रहेकामध्ये केहीको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका हुन् ।गत पुस १० मा प्रचण्ड नेतृत्वमा सरकार गठन हुँदा माओवादीले एक उपप्रधानसहित चार मन्त्री र एक राज्य मन्त्री पाएको थियो । जसमा नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, सुदन किराँती संस्कृति तथा नागरिक उड्डयन, अमन लाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन र सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।
यीमध्ये दुई मन्त्रीको जिम्मेवारी हेरफेर हुने भएको छ । नारायणकाजी श्रेष्ठले उपप्रधानसहित गृह मन्त्री पाउने भएका छन् । अर्थ र गृहमध्ये एकमा दाबी प्रस्तुत गरेको माओवादीलाई गृह दिन कांग्रेस तयार भएपछि श्रेष्ठलाई उक्त जिम्मेवारी दिन लागिएको हो । स्रोतका अनुसार, प्रचण्डले श्रेष्ठलाई मन्त्रालय परिवर्तन गर्न लागिएको जानकारी गराइसकेका छन् । श्रेष्ठ सुरुमै यो मन्त्रालयको आकांक्षी थिए । तर अघिल्लो गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा गृह परेपछि उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिएर सहभागी भएका थिए ।
मन्त्रालय फेरिने भएपछि श्रेष्ठले आइतबार नै पत्रकार सम्मेलन गरेर योबीचमा आफूले गरेका काम सार्वजनिक गर्ने तयारी गरेका छन् ।श्रेष्ठको सचिवालयले आइतबार पत्रकार सम्मेलन गर्न लागिएको जनाए पनि मन्त्रालय हेरफेरबारे भने अनभिज्ञता प्रकट गर्यो । त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पनि मन्त्रालय परिवर्तन हुने करिब पक्का भएको छ । छोटो समयमा नै नतिजामूलक काम गरिरहेका मन्त्री मोदीले यही मन्त्रालयमा काम गर्ने रुचि देखाएका छन् । तर उनलाई सहरी विकास वा ऊर्जामध्ये एकमा सार्ने तयारी भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले बतायो ।
कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि रुचि देखाएको छ । सरकारको नेतृत्व आफूसँग भएकाले प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्ने यो मन्त्रालय अरूलाई दिन माओवादीले अस्वीकार गरेपछि रेखा शर्माले भने निरन्तरता पाउने भएकी छन् । माओवादीका अर्का मन्त्री सुदन किराँती र सुशीला सिर्पाली ठकुरीलाई भने पुरानै जिम्मेवारीमा प्रचण्डले निरन्तरता दिने भएका छन् । नेपालवाच