चन्द्रौटा । बजार क्षेत्र भित्र सार्वजनिक शौचालय नहुँदा सेवाग्राहीले भोग्दै आएका समस्यालाइ मध्यनजर गर्दै शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा अस्थाई स्मार्ट शौचालय बनाउने भएको छ । शौचालयलाई अन्यत्र सार्न मिल्ने गरी स्मार्ट हुनेछ भने स्थान अस्थायी हुनेछ । चन्द्रौटा बजारमा सार्वजनिक शौचालय बनाउनका लागि नगर प्रमुख अजय थापा लागि परेका छन् । नगरको वडा न. ५ मा रहेको संजिवनी अस्पतालको अगाडी तीन वटा अस्थाई स्मार्ट शौचालय बनाउने गरी तयारी थालिएको नगर प्रमुख थापाले जानकारी दिए ।
नयाँ बन्ने सार्वजनिक महिलामैत्री हुनेछ । शौचालयमा स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौच गर्ने ठाउँ हुनेछ । पर्याप्त जग्गा भएको ठाउँ हेरेर महिला, पुरुष भएका व्यक्तिका लागि छुट्टाछुट्टै डिजाइनमा निर्माण गरिने छ । शिवराज नगरपालिकाका प्रावधिक टोलीले तय गरेको डिजाइनअनुसार यी शौचालयमा स्वचालित बत्ती जडान गरिनेछ । जुन मान्छे छिर्दा बत्ति बल्ने छ र निस्कँदा आफैं निभ्नेछ । शौच सकिएपछि सफाइका लागि प्रयाप्त पानी, ट्वाइलेट पेपर, स्प्रे लगायत व्यवस्था हुनेछ । हात धुन साबुन र पानीको पनि व्यवस्था गरिनेछ ।
त्यस्तै, शौचपछि स्वचालित उपकरणले पानी झार्छ र फोहोर पखाल्छ । नगरपालिकाले शौचालय निर्माण गर्ने ठाउँ, वरिपरिको वातावरण पनि सफासुग्घर र व्यवस्थित गर्ने योजना ल्याएको छ । शौचालय भन्नेबित्तिकै फोहोरी ठाउँ हो भन्ने आमधारणा बनेको छ । हामी यसलाई गलत साबित गर्न चाहन्छौं नगर प्रमुख थापाले बताए । मायादेवी अनलाइन