काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दैछन्। पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले प्रतिनिधि सभाबाट दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई संसद्का २ साना दल नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा बाहेक सबै दलको समर्थन प्राप्त भएको थियो।
राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री आफैंले सत्ता समीकरण फेरे। उनले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए।