काठमाडौं । नम्बियो डटकमले सार्वजनिक गरेको कस्ट अफ लिभिङ सूचकांकका अनुसार नेपाल विश्वका सस्ता सहरहरुको सूचीमा छैटौं नम्बरमा परेको हो । यो सूचकांकका लागि १४० देशहरुका तथ्यांकहरु समावेश गरी विश्लेषण गरिएका छन् ।नेपाली बजारमा महंगी दिन प्रतिदिन बढिरहेको नेपाली उपभोक्ताले महसुस गरिरहेका छन् । महंगीको मार झेलिरहेका नेपाली उपभोक्तालाई नेपाल विश्वकै सस्ता देशहरुमध्ये पर्छ भन्दा पत्याउन गाह्रो हुन्छ तर यो सत्य हो ।
नेपाल विश्वकै सबैभन्दा सस्ता देशहरुको सूचीमा छैटौं नम्बरमा छ । तर, नेपाली उपभोक्ताका लागि नेपाली बजार महंगो महसुस हुनुको कारण हाम्रो नेपाली मुद्राको अवमूल्यन हो । नेपाली बजारमा वस्तुको मूल्य जसरी बढिरहेको छ त्यही अनुपातमा विदेशी मुद्राको मूल्य पनि बढिरहेको छ । त्यसैले विदेशी वा अन्तर्राष्ट्रिय मुद्रा (अमेरिकी डलर) मा भने नेपाली बजार महंगो छैन ।
उदाहरणको लागि १ वर्षअघि १२० रुपैयाँ मूल्य पर्ने सामानलाई अहिले १३० रुपैयाँ मूल्य पर्दा नेपाली उपभोक्ताले मूल्य १० रुपैयाँ बढेको मान्नुपर्छ । तर, डलरमा भने यो मूल्य कत्ति पनि बढेको होइन । किनकि १ वर्षअघि १ डलरको मूल्य १२० रुपैयाँको आसपास थियो जुन अहिले १३० को आसपासमा पुगेको छ । अर्थात त्यो वस्तुको मूल्य १ वर्षअघि पनि १ डलर नै थियो र अहिले पनि १ डलर नै छ ।
यो सूचकांक अमेरिकाको न्यूयोर्क सहरलाई १०० प्रतिशतको मापदण्ड मानेर गरिएको छ । यसअनुसार नेपालको कस्ट अफ लिभिङ इन्डेक्स २४.८ छ । यसको अर्थ न्यूयोर्कमा १०० डलर मूल्य पर्ने वस्तु वा सेवा नेपालमा २४.८ डलरमै पाइन्छ । यसअनुसार सबैभन्दा सस्तो देश पाकिस्तान हो । पाकिस्तानको कस्ट अफ लिभिङ इन्डेक्स १८ छ ।
पाकिस्तानको कस्ट अफ लिभिङ इन्डेक्स १८ हुनु भनेको न्यूयोर्कमा १०० डलर पर्ने वस्तु वा सेवा पाकिस्तानमा १८ डलरमै पाइन्छ भनिएको हो । यो सूचीमा पाकिस्तानपछि दोस्रोमा २१.६ इन्डेक्ससहित इजिप्ट छ । तेस्रोमा भारत (२२.४), चौथोमा कोलम्बिया (२३.१), पाँचौंमा लिबिया (२४.४) छन् ।
यो इन्डेक्सअनुसार सबैभन्दा महंगो देश बर्मुडा हो । बर्मुडाको कस्ट अफ लिभिङ इन्डेक्स १४१.८ छ । यसको अर्थ न्यूयोर्कमा १०० डलर पर्ने वस्तु वा सेवालाई बर्मुडामा १४१.८ डलर पर्छ । महंगा देशको सूचीमा दोस्रोमा स्विट्जरल्याण्ड (११४.२), तेस्रोमा केयमन आइल्याण्ड (१०३.४) छन् । यसपछिका देशहरुको कस्ट अफ लिभिङ इन्डेक्स भने न्यूयोर्कको भन्दा सस्तो छ । स्राेतः डिसी नेपाल