सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो ।कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ । निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए।