काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको फोटोमा देखिएको त्रुटि शीतलनिवासले सच्याएको छ । राष्ट्रपति कार्यालयले पौडेलको शपथलगत्तै हुलिया बिगारिएको तस्बिर अपलोड गरेको थियो । देशभरका सरकारी कार्यालयमा रहने उक्त फोटोको हुलिया बिग्रने गरी अनाश्यवक रुपमा सम्पादन गर्ने काम भएको भन्दै आलोचना भएकामा शीतल निवासले दुई दिनपछि फोटो सच्याएको हो । सम्पादन भएको राष्ट्रपतिको फोटोमा अनुहार चमक देखाउन आवश्यकताभन्दा बढी सम्पादन गरिएको देख्न सकिन्थ्यो । जहाँ उनको दायाँ र बायाँ गालामा रहेका ठूलो कोठी हटाइएको थियो ।साथै गालामा चाउरी परेका भागलाई हटाएर रुस्टपुस्ट फोटो राखिएको थियो । मानिसको अनुहारमा भएका कोठी नै उसको पहिचान हुने भन्दै कोठी हटाइएको विषयमा थुप्रैले आलोचना गरेका थिए ।