उपराष्ट्रपति चुनावका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

67

काठमाण्डाै  । निर्वाचन आयोगले आउँदो चैत ३ मा हुने उपराष्ट्रपति पदको चुनावका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै निषेधको अवधि लागू भएको आयोगले जनाएको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । आचारसंहिताबमोजिम चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यो अवधिमा प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ । उपराष्ट्रपति पदको चुनावका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भइ अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएको छ । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसक्नुभएको छ ।

b 4
Leave A Reply

Your email address will not be published.