२०७८ भदौ २ मा सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुग्यो । त्यसदिन नेप्से ३ हजार २ सयभन्दा माथिको विन्दुमा पुगेको थियो भने बजार पुँजीकरण पनि ४४ खर्ब नाघेको थियो । सेयर बजारमा गिरावट आएर निराश भएका लगानीकर्ता विस्तारै पुनः उत्साहित हुँदै लगानी बढाइरहेका थिए । कोभिड महामारीको समयदेखि नै सेयर बजार सकारात्मक गतिमा दौडिरहेको थियो । तर, अहिले अवस्था फेरि निराशाजनक छ । ३२ सयभन्दा बढीको उचाइमा पुगेको नेप्से परिसूचक १९ सय ३८ अंकमा झरेको छ ।
बजार पुँजीकरण पनि करिब आधाभन्दा बढीले घटेको छ । अहिले सेयर बजार पुँजीकरण २८ खर्ब हाराहारीमा रहेको छ । यसबीचमा लगानीकर्ताले करिब १६ खर्ब गुमाएको सेयर बजार विश्लेशक अञ्जिव तुलाधर बताउँछन् । अर्थतन्त्रको रक्तसञ्चारका रूपमा लिइने सेयर बजार घटबढ हुनुमा अर्थतन्त्रको अवस्था, राजनीतिक स्थिरता, नीतिगत स्थायित्व, लगानीकर्ताको मनोविज्ञानलगायत कुराले निर्भर गर्छ । पछिल्लो समय सेयर बजारमा गिरावट आइरहँदा लगानीकर्ताको मनोबल निकै कम रहेको लगानीकर्ता बताउँछन् ।
अहिले सेयर बजारमा ‘प्यानिक सेलिङ’ सकिएको तुलाधरले बताए । “अप्ठ्यारोमा परेको समयमा बेच्दा सेयर बजार ३२ सयबाट १९ सयमा झरेको हो । प्यानिक सेलिङ सकिएको अवस्था छ,” उनले भने, “अहिले पनि स–साना बिक्रेतामात्रै छन् । नयाँ लगानीकर्ताले नै प्रायः बिक्री गरिरहेका छन् ।” अब यही अवस्थाबाट बजार अगाडि बढ्न खोजेको उनको भनाइ छ । “अब बैंक ब्याजदर घट्ने दिशामा छ भने बजार बढ्ने दिशामा छ । अब जति घट्नु घटिसक्यो, बढ्ने हो ।”
अर्थतन्त्रको अवस्थाले बजार प्रभावित
सेयर बजार बढ्नका लागि राजनीतिक माहोलले विशेष भूमिका खेल्ने नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । सुरुमा सेयर बजार बढ्नका लागि अर्थतन्त्रको अवस्था सुमधुर हुनुपर्ने उनको भनाइ छ । “अर्थतन्त्र सुमधुर हुँदै जाँदा बैंकको ब्याजदर घट्ने तथा राजनीतिक स्थायित्वको पनि अवस्था आउने हुन्छ,” अध्यक्ष पोखरेल भन्छिन्, “सेयर बजारमैत्री अर्थमन्त्री आउँदा सेयर बजार केही माथि जान्छ ।”
बैंक ब्याजदरमा भएको उच्च वृद्धिका कारण अहिले लगानीकर्ता निकै प्रभावित भएको उनले सुनाइन् । दुई वर्षअघि ७ प्रतिशत रहेको बैंक ब्याजदर अहिले १६ प्रतिशतमाथि भएकाले लगानीकर्तालाई समस्या भएको उनको भनाइ छ । नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष एवम् लगानीकर्ता छोटेलाल रौनियारका अनुसार अहिले उच्च ब्याजदर, राजनीतिक अस्थिरता, नियामकीय कडाइ, नीतिगत कठिनाइजस्ता विषयले सेयर बजारमा असर पारेको छ ।
उनले अहिले अर्थतन्त्र सुधारको दिशामा गएकाले पनि सेयर बजारमा खुकुलो नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । सेयर बजार अब कता जाने भन्ने दिशा निर्धारण राष्ट्र बैंकले लिने नीतिमा भर पर्ने उनको भनाइ छ । उनी भन्छन्, “अर्थतन्त्र र सेयर बजार सँगसँगै जानुपर्ने विषय हो । तर अहिले त्यस्तो हुन सकेको छैन । दुवै सुधारको प्रतीक्षामा छन् ।”
अन्तर्राष्ट्रिय अवस्थासँग तुलना
सेयर बजार विष्लेषकहरू नेपालको सेयर बजार र बाह्य मुलुकको सेयर बजारबीच तुलना गर्ने अवस्था नरहेको बताउँछन् । उनीहरूका अनुसार विभिन्न नीतिगत समस्या र कारणका अनुसार बाह्य मुलुकको सेयर बजारजस्तो नेपालको सेयर बजार हुन सकेको छैन । यसमध्ये मुख्य कारण विदेशमा गएका नेपाली नागरिकले डलर खाताबिना प्राथमिक सेयर (आईपीओ)मा लगानी गर्न नपाउने व्यवस्था रहेको नेपाल पुँजीबजार संघकी अध्यक्ष पोखरेल बताउँछिन् । “डलर खाता नहुँदा सबै समस्यामा छन् । लगानी गर्न पाएका छैनन्,” पोखरेल भन्छिन्, “नीतिगत समस्या पनि मुख्य विषय हो । विदेशीको त कुरै छाडौं, नेपालीले नै लगानी गर्न पाएका छैनन् यहाँ ।”
नेपाल स्टक एक्सचेञ्जका निर्देशक एवं प्रवक्ता मुराहरि पराजुली कोरोनाका कारण सबै मुलुकमा सेयर बजार बढ्नुको एउटै कारण भए पनि अन्य समयमा घटबढमा एउटै कारण नहुने बताउँछन् । उनका अनुसार अमेरिका, जापान, भारत, युरोपलगायत विकसित सेयर बजार एकापसमा अन्तर सम्बन्धित हुन्छन् । यस्ता बजारमा एक सेयर बजार र अर्को सेयर बजारबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । अर्थात् एउटा बजारमा बढ्दा अर्कोमा पनि बढ्ने र एउटामा घट्दा अर्कोमा पनि घट्ने हुन्छ । तर नेपालमा भने त्यस्तो हुँदैन । नेपालको सेयर बजार कसैसँग पनि जोडिएको छैन ।
उनी भन्छन्, “कुनै विदेशीले आएर नेपालको सेयर बजारमा किन्न पाउँदैन । कुनै देशमा गएर नेपालीले सेयर किन्ने अवस्था छैन ।” यसो हुँदा बाह्य सेयर बजार बढ्नु र घट्नुमा नेपालको सेयर बजारमा असर नपर्ने उनले बताए ।