कर्णालीमा फेरिँदो सत्ता समीकरण: कांग्रेस पर्ख र हेरको नीतिमा

75

सुर्खेत– राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा सत्ता गठबन्धन भत्किएर नयाँ ८ दलीय गठबन्धन बनेसँगै प्रदेशहरुमा पनि त्यसको प्रभाव पर्ने देखिएको छ। कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धन फेरिने सम्भावना बढेको छ।

हाल नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री छन्। उनलाई नेकपा एमालेको समर्थन छ। ४० सदस्यीय प्रदेश सभामा सत्तारुढ माओवादीका १३ सांसद छन् भने नेकपा एमालेका १० सांसद छन्।

प्रदेश सभाको  सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १४ सांसद छन्। हाल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको छ। यस्तै, राप्रपा, नेकपा एसका १–१ र १ स्वतन्त्र सांसद छन्।

केन्द्रका अनुसार गठबन्धन फेरिए कर्णालीमा माओवादी, कांग्रेस र नेकपा एसका गरी कूल २८ जना सांसद हुनेछन्। जुन सरकार निर्माणका लागि दुईतिहाईभन्दा बढी हो। गठबन्धन परिवर्तन भएमा कर्णालीमा अहिले सत्ता साझेदार बनेको एमाले प्रतिपक्षीमा जानेछ।

माओवादी केन्द्रको नेतृत्वमा सरकारमा सहभागी एमालेसँग अहिले प्रदेशका तीनवटा मन्त्रालय छन्। आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोद शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा जितबहादुर मल्ल छन्।

यस्तै माओवादीका तर्फबाट मुख्यमन्त्रीमा राजकुमार शर्मा, भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रीमा मंगल शाही, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कृष्णबहादुर जिसी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा भीमप्रकाश शर्मा छन् भने भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्रीमा उर्मिला विश्वकर्मा छिन्।

b 4

कर्णाली प्रदेश सरकार सञ्चालनका विषयमा हालका सत्तारुढ दल माओवादी र एमालेबीच साढे दुई वर्षे कार्यकाल दुवै दलले लिने भद्र सहमति भइसकेको छ।

तर, केन्द्रमा भएको परिवर्तनले कर्णाली सरकार परिवर्तन हुने भएको छ। केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रदेशमा विश्वासको मत नदिएका कारण कांग्रेसले कर्णालीमा के गर्छ भन्ने अन्योलता नै छ।

‘हाल एमाले सरकारमा सहभागी छ। यस्तो अवस्थामा एमालेले के गर्छ भन्ने कुरा महत्वपूर्ण हो,’ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का भन्छन्, ‘एमालेले सर्मथन फिर्ता लिए वा सरकारबाट हटेको खण्डमा मात्रै हामी कसरी अघि बढने भन्ने निर्णयमा पुग्छौं।’ उनले केन्द्रमा गठबन्धन भएको बताउँदै स्वभाविक रुपमा कर्णालीमा पनि नयाँ समीकरण बन्ने बताए।

‘हामी यो सरकारलाई संकट आएको समयमा सहयोग गर्न तयार छौं। आवश्यकता नै नपरेको विश्वासको मत दिएर केही काम नै छैन,’ नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विश्वासको मत दिने समयमा सदनमा भनेका थिए, ‘तसर्थ हामी अहिले प्रमुख प्रतिपक्षमै बस्छौं।’

उनको यो भनाइको तात्पर्य भनेको माओवादी केन्द्रलाई यदि एमालेले असहयोग गरेमा वा विश्वासको मत फिर्ता लिने निर्णय गरेमा सरकारलाई काँध थाप्न कांग्रेसले कञ्जुस्याई नगर्ने भन्ने नै हो।

सभामुखको पद जोखिममा
मुख्यमन्त्री शर्माका लागि सत्ता जोगाउन समस्या नभए पनि सभामुख नन्दा गुरुङको पद भने जोखिममा परेको छ। मुख्यमन्त्री माओवादीले पाएपछि सभामुख भने एमालेले पाएको थियो।

सदनमा दुई तिहाईभन्दा बढी सांसद सत्तारुढ गठबन्धन दलहरुका भएपछि सभामुख सबैभन्दा बढी जोखिममा छिन्।  ‘दलहरुको निर्णय के हुन्छ सोही अनुसार अघि बढछौं,’ सभामुख स्रोत भन्छ, ‘अहिले नै पद नै गइहाल्ने भन्ने कुरा छैन। विस्तारै राजनीतिक घटनाक्रम कसरी अघि बढ्छ त्यही अनुसार सभामुख ज्यूले आवश्यक निर्णय लिनुहुन्छ।’

यता, नेकपा माओवादीका एक जना प्रभावशाली सांसदले सभामुखलाई तत्काल हटाई हाल्नुपर्ने कुनै कारण नभएको बताए।  ‘उहाँलाई हटाउनुपर्नेृ कुनै कारण छैन। सभामुख हटाउन या त महाअभियोग लगाउनुपर्‍यो या त उहाँले नै राजीनामा दिनुपर्‍यो। त्यसबाहेक अहिले अर्को कुनै कारण नै छैन,’ ती सांसद भन्छन्, ‘महाअभियोग लगाउनका लागि कुनै कारण त चाहियो नि?’

उसो त नेपाली कांग्रेसले सभामुखमा दाबी गर्ने देखिएको छ।  ‘हाम्रा दलका नेता जीवनबहादुर शाही हाल विदेशमा हुनुहुन्छ। उहाँ आएपछि मात्रै सल्लाह हुन्छ,’ नेता शाही निकट स्रोत भन्छ, ‘कांग्रेसले स्वभाविक रुपमा सभामुखमा दाबी गर्छ। राजनीतिक नेतृत्वबीच सहमति भएको खण्डमा कसरी अघि बढ्ने भन्ने निर्क्योल निस्केला।’

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसी केन्द्रकै गठबन्धन अनुसार अघि बढ्ने बताउँछिन्।  ‘राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि गठबन्धनको बैठकहरु चल्छन्। केन्द्रमा भएको गठबन्धन अनुसार नै अघि बढ्ने करिब निश्चित नै छ,’ उनी भन्छिन्,  ‘कर्णालीमा हालको सत्ता साझेदार एमालेले के गर्ने भन्ने विषयमा कुनै निष्कर्ष निकालेको छैन। उहाँहरुको निष्कर्षपछि हामी बाँकी छलफल अघि बढाउँछौं।’

नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाह अहिले एमाले कसरी अघि बढने भन्ने बारेमा कुनै छलफल नभएको बताउँछन्। आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका शाहले एमालेले केन्द्रका बारेमा मात्रै निर्णय गरेको बताउँदै प्रदेशका बारेमा के गर्ने भन्ने निर्णय नगरेकाले कसरी अघि बढ्ने भन्ने विषयमा अहिले नै बोल्नु हतारो हुने प्रतिक्रिया दिए।

सामाजिक विकासमन्त्री टेकराज पछाईले केन्द्रमा जे जस्तो भए पनि प्रदेशमा हालकै गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा आफूहरु रहेको बताए। ‘केन्द्रका बाछिटा प्रदेशमा पार्नुहुन्न र यही गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भन्ने मान्यता हाम्रो छ’, पार्टीका प्रदेश उपसचिवसमेत रहेका मन्त्री पछाईले भने।

b 4
Leave A Reply

Your email address will not be published.