विश्वकप लिग-२: शीर्ष तीनको आस कायम राख्न युएई र नेपाल दुवैलाई जित्नुपर्ने दवाव

74

काठमाडाैँ- विश्वकप क्रिकेट लिग-२ मा नेपालले सोमबार युएई सिरिजको अन्तिम खेलमा घरेलु टिमको सामना गर्दै छ। विश्वकप लिग-२ को रोमाञ्चक बनेको समीकरणमा दुवै टिम जितका लागिम मैदान उत्रिँदै छन्। नेपाल र युएईबीचको खेल दुवै अन्तराष्ट्रिय मैदानमा ११:४५ मा सुरु हुँदै छ।

अन्तिम ५ खेल बाँकी रहँदा नेपाल र युएई दुवैलाई शीर्ष तीनमा पुग्नका लागि सबै खेलमा जित अनिवार्य बनेको छ। आइतबार युएई पपुवा न्युगिनिसँग पराजित भएसँगै उसका लागि आज नेपाल विरुद्ध हुने खेलसँगै टियु मैदानमा हुने बाँकी ४ खेल पनि जित्नु पर्ने छ। नेपाललाई पनि युएईलाई आज उसकै मैदानमा पराजित गर्दै घरेलु सिरिज पनि क्लिन स्विप गर्नु पर्ने चुनौती रहेको छ।

लिग-२ को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउने छ। विश्वकप छनोटका लागि शीर्ष दुईमा स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा नामिबिया अहिले ३९ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

तर नेपाल र युएईले समान ३१ खेल खेल्दै युएई ३१ र नेपाल ३० अंकका साथ पाँचौँ र छैटौँ स्थानमा रहेकाले बाँकी ५ खेलमा जित निकाले युएईको ४१ अंक हुनेछ भने नेपालको ४० अंक हुनेछ।

त्यसैले दुवै टिमको नामिबियालाई पछि पार्ने अभियानमा आजको खेल निर्णायक हुने छ। त्यसैले सोमबार हुने खेल दुवै टिमका लागि विश्वकप अभियानलाई कायम राख्नका लागि निर्णायक रहेको छ।

युएई सिरिजमा अघिल्लो खेलमा नेपाल युएईसँग ६८ रनले पराजित हुन पुगेको थियो। २०७ रनमा नै बलरहरूले घरेलु टोलीलाई रोके पनि नेपाली ब्याटर चल्न नसक्दा निरास बनेको थियो। तुलनात्मक रूपमा बलिङ पिच रहेको युएईमा सोमबार पनि कम स्कोरमा रोक्ने टिमलाई जित सहज हुने पक्का छ।

नेपालले पछिल्लो पटक गत नोभेम्बरमा नेपालमै भएको ओडिआई सिरिजमा युएईलाई पराजित गरेको थियो। तीन खेलको ओडिआई शृखंला नेपालले २-१ ले जितेको थियो। तर विश्वकप लिग-२ को यात्रामा नेपाल युएइसँग जितविहिन रहेको छ।

सोमबार युएईविरुद्धको खेलमा ओपनर कुशल भुर्तेल खेल्ने छैनन्। ग्रोइन इन्जुरीका कारण उनी टिमबाट बाहिरिएका छन्। उनको स्थानको अन्तिम १४ टोलीमा सन्दिप जोरा समावेश छन्। कुशल भुर्तेल नहुँदा आसिफ शेखको ओपनिङ जोडीमा नयाँ खेलाडी आउने छन्।

पहिलो खेल गुमाए पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने नेपाली जितमा टर्निङ प्वाइन्ट रहँदै आएकाले आज उनको भूमिका थप महत्त्वपूर्ण हुने छ। युएईमा उनले दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। नामिबियाविरुद्धको उनको अलराउन्डर प्रदर्शनमा नेपाल विजयी भएको थियो। युएईको टिममा यु-१९ टिमका कप्तान आयान खान फर्किएकाले नेपाल विरुद्ध आत्मविश्वासी रहेको छ।

नेपाल-युएईको हेड टु हेड

अहिलेसम्म कुल १० खेल, नेपाल ४ खेलमा जित, युएई ६ खेलमा विजयी। एसिया कप छनोट २०१८ अगस्टमा यूएई ७८ रनले विजयी। नेपाल टुर टु युएई २०१९ जनवरीमा यूएई ३ विकेटले विजयी, नेपाल टुर टु युएई २०१९ जनवरीमा नेपाल १४५ रनले विजयी, नेपाल टुर टु युएई २०१९ जनवरीमा नेपाल ४ विकेटले विजयी, क्रिकेट विश्वकप लिग टु २०२२ मार्चमा युएई ४८ रनले विजयी, विश्वकप लिग टु २०२२ मार्चमा युएई ९९ रनले विजयी, युएई टुर टु नेपाल २०२२ नोभेम्बरमा युएई ८४ रनले विजयी, युएई टुर टु नेपाल २०२२ नोभेम्बरमा नेपाल ३ विकेटले विजयी, युएई टुर टु नेपाल २०२२ नोभेम्बरमा नेपाल ६ विकेटले विजयी, क्रिकेट विश्वकप लिग-टु २०२३ मार्चमा युएई ६८ रनले विजयी।

Leave A Reply

Your email address will not be published.