नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । आज दिउँसो उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमालेका आठजना मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्।
आज बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । सोहीअनुसार एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् । सत्ता गठबन्धनमा आएको परिवर्तनपछि पनि एमाले राष्ट्रपतिको निर्वाचन (फागुन २५ गते)सम्म सरकार नछोड्ने निर्णयमा थियो । तर, हिजो जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा. विमला पौड्याललाई प्रधानमन्त्री प्रचण्डले रोकेपछि आकस्मिक बैठक बोलाएर एमालेले सरकार छोड्ने निर्णय गरेको हो ।