काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले कांग्रेसबाहेक सबै दल तथा स्वतन्त्र उम्मेदवारसँग सहयोग मागेको छ । विशेष गरि एकीकृत समाजवादीसँग भविश्यमा पनि सहकार्यको बाटो खुला राख्नेगरि सहयोगको अपेक्षा एमालेको छ ।
राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको एकिकृत समाजवादीले यु–टर्न लिँदै एमालेसँग सहकार्यको ढोका खोल्ला छ ?
राष्ट्रपति निर्वाचनमा माओवादीसहित ८ दलको सहमतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
अहिलेसम्मको परिदृष्यमा पौडेललाई पल्लाभारी देखिन्छ । यद्यपी अन्तिम समयसम्म राजनीतिक परिस्थिति बदलिने विश्वास एमालेको छ । ८ दलबीच कांग्रेस उम्मेदवारलाई सघाउने सहमति भइसक्दा पनि एमालेले माओवादी र एकिकृत समाजवादीबाटै आशा गरेको छ ।
नेपाली कांग्रेसबाहेक सबै राजनीतिक दल र स्वतन्त्र सांसदहरुलाई राष्ट्रपतिमा सहयोग माग्न एमाले अध्यक्ष ओलीले पत्राचार नै गरेका छन् ।
उनले का अध्यक्ष माधव नेपाललाई त राष्ट्रपतिकै उम्मेदवार बनाउने अनौपचारीक प्रयाससमेत गरेका थिए । यसैलाई आधार बनाएर राष्ट्रपति निर्वाचन अगावै एकीकृत समाजवादीलाई आफ्नो पक्षमा ल्याउने प्रयास एमालेले गरिरहेको छ ।
हुनत उम्मेदवारी दर्ता गरेपछि उम्मेदवारले आफ्नो पक्षमा मत माग्नु स्वभाविक हो । तर आठ दलीय नयाँ गठबन्धनको निर्माणपश्चात पनि पुस १० को सहमति अनुरुप नै उम्मेदवारी दिएको दावी एमालेले गर्दै आएको छ ।
त्यसका आधारमा राष्ट्रपति निर्वाचनअघि गठबन्धनको सरकारको सरकारको समर्थन एमालेले कायमै राखेको छ । यसअघि नेकपा एसको अस्तित्व समेत स्वीकार नगर्ने एमाले अध्यक्ष ओलीले माधव नेपाललाई नै सम्बोधन गरेर नेकपा एसको सहयोग मागेका छन् ।
यसलाई एकीकृत समाजवादीका नेताहरुले सकारात्मक मानेका छन् । तर ८ दलबीच सहमति भइसकेको अवस्थामा एमालेलाई मत दिने मनस्थितिमा एकीकृत समाजवादी पुगिसकेको छैन ।
राष्ट्रपति निर्वाचनपछि भने एमालेसँग सहकार्य गर्न सक्ने संकेत नेकपा एसको छ । त्यसका लागि एमालेबाट भरपर्दाे प्रस्ताव र छलफलको आशा उनीहरुमा छ ।
केहि दिनअघि पार्टी एकता गर्दै माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने ओलीले प्रस्ताव गरे पनि समाजवादीकै नेताहरुले औपचारिक प्रस्ताव नआएको दाबी गर्दै आएका थिए ।
एमालेले अनावश्यक प्रचारबाजी गरेको बताउँदै आएका नेकपा एसले एमालेप्रति विश्वास गर्ने आधार बनिसकेको छैन ।
स्रोतः न्यूज २४