काठमाडौं । गत पुसको दोस्रो साता बाँकेमा देखा परेको दादुरा संक्रमण हाल ९ जिल्लामा देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख भरत भण्डारीका अनुसार ९ जिल्लामा हालसम्म ६०१ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । उनका अनुसार बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, महोत्तरी, मोरङ, दैलेखमा पनि दादुर संक्रमण फैलिएको हो । उनका अनुसार सबैभन्दा बढी बाँकेमा ३२२ जना र महोत्तरीमा १०१ जना संक्रमित देखा परेका छन् ।
दादुरा भएकामध्ये ८७ प्रतिशत बालबालिका १५ वर्षमुनिका रहेको समेत रहेका छन्, जसले दादुरविरुद्ध खोप लगाएका थिएनन् । सन् २०१९ मै दादुरा उन्मूलन गर्ने लक्ष्य भए पनि पछि नेपाल सरकारले त्यसको समयसीमा बढाएर सन् २०२३ सम्म सारेको छ । युनिसेफका अनुसार दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रूप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।