काठमाडौँ । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको रक्षकको भूमिकाका लागि आफू तयार रहेको बताएका छन् । शनिबार केन्द्रीय कार्यसम्पादन समितिले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकपछि पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए । ‘नेपालको संविधानको भावना र मर्मअनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बेला छ । यस्तोमा म राष्ट्रपतिको संविधानको रक्षकको हैसियतका लागि तयार छु,’ पौडेलले भने, ‘मलाई नेपाली कांग्रेसबाट उम्मेदवारीको चरणमा यो प्रेरणा मिलेको छ । मलाई संसद्मा रहेका सबै दलहरूको सद्भाव र समर्थन पनि छ ।’
उनले संविधानको रक्षाका लागि सबैलाई आह्वान गरे । ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले जनतामा जुन अभूतपूर्व अधिकार प्रदान गरेको छ, त्यसको रक्षा गर्ने चुनौती छ । नेपालको संविधान, राष्ट्रियताको संरक्षण र जनताको जनजीवनको रेखदेख गर्ने जुन जिम्मेवारीका लागि म तयार भएको छु, त्यसका लागि म सचेत छु, तयार छु,’ उनले भने, ‘यो संविधान भनेको ठूलो संघर्षको उपलब्धि हो । म सबैलाई आह्वान गर्न चाहान्छु, कि हामी सबै मिलेर यो संविधानको रक्षा गरौँ ।’