रुपन्देही । नेपाल मगर संघले फागुन १५ मा सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी यस्तो माग दोहोर्याएको हो । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक बिदा माग गर्दै आएको छ ।संघकी अध्यक्ष बसन्ती साठीघरेले फागुन १५ मा सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि-सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गरेकी छन् ।