हेटौँडाको शिव शिखर सहकारीमा ताला, बचतकर्ताहरू बचत फिर्ता माग्दै धर्नामा

78

हेटौंडा ४ मा रहेको शिव शिखर सहकारी संस्था बन्द भएपछि बचतकर्ताहरू विरोधमा उत्रिएका छन्। बुधबार सहकारीमा लगाइएको ताला आज बिहीबार पनि नखुलेपछि बचतकर्ताहरू धर्नामा बसेका हुन्।

आफूले जम्मा गरेको रकम फिर्ता लिन पटकपटक सहकारी धाउँदा पनि नपाएका बचतकर्ताहरू सहकारीमा ताला नै लागेपछि चिन्तामा परेका छन्।

हेटौंडा १ की पार्वती बर्तौला आफूले बचत गरेको ८५ हजार रुपैयाँका लागि ५ पटक सहकारी आइसकेको बताउँछिन्। ‘मयुरी चलाएर दिनको २ सय, ३ सय गरेर जम्मा गरेको थिएँ। अहिले खाँचो परेर निकाल्न आएको पैसा छैन भनेर झुलाउँदा झुलाउँदै सहकारी नै बन्द भएछ’, बर्तौलाले नेपालखबरसँग भनिन्।

बिहान १० बजेदेखि नै सहकारी संस्थाको गेटमा कुरिरहेकी बर्तौला आफ्नो बचत फिर्ता लगेर छोराछोरीको स्कुलको फि तिर्न ढिला भइसकेको बताउँछिन्। ‘सहकारी बन्द हुँदा आफूले बचत गरेको रकम कसरी फिर्ता लिने भन्ने तनाव भएको छ’, उनले भनिन्।

यस्तै हेटौंडा ११ थानाभर्‍याङकी सानुमाया थिङले पनि यस सहकारीमा आफ्नो डेढ लाख बचत रहेको १ महिनादेखि धाउँदा पनि फिर्ता नदिएको गुनासो गरिन्। ‘डेढ लाख जम्मा भएको छ, त्यसको ब्याज कति भयो थाहा छैन’, उनले नेपालखबरसँग भनिन्, ‘दिन्छौं अहिले चल्ती पैसा नभएर हो भन्ने गरेको थियो। हिजोदेखि सहकारी नै बन्द भएछ। बिहान १० बजेदेखि नानी काखमा बोकेरै धर्नामा बसिरहेको छु।’

उनीहरू मात्रै होइन, शिव शिखर सहकारी संस्थाको हेटौंडा शाखा बन्द हुँदा सयौं बचतकर्ता आफ्नो बचत कसरी फिर्ता लिने भन्ने चिन्तामा छन्। एकजनाकै ५ देखि ५० लाख सम्म बचत रहेको पीडितहरू बताउँछन्।

यता, सहकारीका कर्मचारीहरू भने सञ्चालक समितिले समन्वय नगरेका कारण कर्मचारीले नै सहकारीमा ताला लगाएको बताउँछन्। सहकारीका एक कर्मचारीका अनुसार चल्ती खर्च नभएकाले फिर्ता दिन नसकिएको र सञ्चालक समितिलाई यसबारे जानकारी गराउँदा पनि बेवास्ता गरेपछि कर्मचारीले नै ताला लगाएको बताउँछन्।

हेटौंडामा पुस २०७७ मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको थियो। हेटौंडामा यो सहकारीको १६औं शाखा हो। सहकारीले करिब ३ करोड रुपैयाँको लागतमा डिपार्टमेन्ट स्टोर पनि सञ्चालन गरेको छ।

मार्टबाट घरायसी, खाद्यान्न, इलेक्ट्रोनिक्स, कपडा, पेय पदार्थ लगायतका वस्तु बिक्री हुने डिपार्टमेन्ट स्टोर पनि बिहिबार बन्द भएको छ। बुधबार सहकारीको ढोका बन्द भएपछि बचतकर्ताहरूले मार्ट घेराबन्दी गरेपछि बन्द गरेर साँचो जिल्ला प्रशासन कार्यालयले लगेको सोही सहकारीमा कार्यरत सुरक्षागार्डले बताए।

स्रोतः नेपाल खबर

Leave A Reply

Your email address will not be published.