पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल तिब्र

80

काठमाडौँ । पछिल्ला विकसित राजनीतिक घटनाक्रम अनुसार पुरानो गठबन्धन ब्युँताउने पहल शुरु भएको छ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा पुरानो गठबन्धनलाई ब्युँताउने विषयमा छलफल भएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा आगामी राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस भेटमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत सहभागी थिए भने कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा लगायतका नेताहरु सहभागी थिए ।

यस भेटमा पुरानो गठबन्धनलाई ब्यूंताएर अगाडी बढ्ने विषयमा मोटामोटी सहमति भएको कांग्रेस नेताहरुले दाबि गरेका छन् । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई सहयोग गरेर अगाडी बढ्न प्रस्ताव गरेको र पुरानो गठबन्धन ब्युँताएर राजनीतिक कोर्सलाई करेक्सन गर्न आग्रह गरेको थियो । त्यसमा प्रधानमन्त्री प्रचण्डले विहिबार (आज) पार्टीमा एक पटक छलफल गरेर निर्णय लिने जवाफ दिएको बताइएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रले आज पार्टीको बैठक बसेर निर्णय लिने तयारी गरेको बुझिएको छ ।  माओवादी केन्द्रका एक पदाधिकारीले खरीबोटसँग कुरा गर्दै आज बेलुकासम्म ठोस निर्णय हुनसक्ने बताए ।

स्रोतका अनुसार आज पुरानो गठबन्धनका नेताहरुबीच खासगरी प्रधानमन्त्री प्रचण्डलाई कति बर्ष प्रधानमन्त्री दिने भन्ने विषयमा छलफल र सहमति हुने बताइएको छ ।

कांग्रेसका एक नेताले कांग्रेसले हाल तीन बर्ष प्रचण्ड प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको र प्रचण्डले नमानेमा चार बर्षसम्म दिन तयार रहेको दाबि गरेका छन् ।

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्ने तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाटलाई भने तीव्र बनाएका छन् ।

बुधबार सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि आफ्नै निवासमा लोसपाका महन्थ ठाकुर, जसपाका उपेन्द्र यादव तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँगछुट्टा छुट्टै भेट गरेका थिए ।

Leave A Reply

Your email address will not be published.