नागरिक उन्मुक्तिका सांसद चौधरीलाई राष्ट्रपतिमार्फत माफी

53

काठमाडौँ । २०६६ भदौ ३ मा कैलालीको साबिक बलिया-८ धोबेनी खोलास्थित सडकमा लु२त २११ नम्बरको ट्र्याक्टरमा पेट्रोल छर्किएर आगजनी गरेर २०७० वैशाख ९ मा दोषी ठहर गर्दै ६ महिनाकाे कैद सजाय सुनाइएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई सरकारले राष्ट्रपतिमार्फत माफी दिएको छ । चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुंगो नलाग्दै सरकारले माफी दिएको हो । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ ।

बुधबार राष्ट्रपतिलाई कैद माफी दिन पत्र लेखेका चौधरीलाई सरकारले बिहीबार सजाय माफीका लागि सिफारिस गरेको थियो । अरुण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीले २०६६ भदौ ३ मा कैलालीको साबिक बलिया-८ धोबेनी खोलास्थित सडकमा लु२त २११ नम्बरको ट्र्याक्टरमा पेट्रोल छर्किएर आगजनी गरेका थिए । त्यसविरुद्ध परेको मुद्दामा जिल्ला अदालत कैलालीका न्यायाधीश विष्णु सुवेदीले २०७० वैशाख ९ मा तीनै जनालाई दोषी ठहर गर्दै ६/६ महिना कैद सजाय सुनाएका थिए ।

अरुणसहित सबै जना सुरुबाटै फरार थिए । बारम्बार म्याद पठाउँदा पनि उपस्थित नभएपछि अदालतले उनीहरूले ‘अपराध स्वीकार गरी बसेको’ ठहर्‍याउँदै कैद र क्षतिपूर्तिको फैसला गरेको थियो । तीमध्येका वीरबहादुर गत माघ दोस्रो साता पक्राउ परेका थिए । त्यसपछि माघ १९ मा प्रहरीले बाँकेबाट सांसद अरुण चौधरीलाई पक्राउ गरेको हो ।पक्राउ परेका सांसद चौधरी कैलाली कारागारमा कैद सजाय भोग्दै छन् । अदालतको सुनुवाइको प्रतीक्षा नगरी सरकारले सांसद चौधरीलाई राष्ट्रपतिमार्फत माफी दिएको हो ।

b 4
Leave A Reply

Your email address will not be published.